Banijya News

स्लोभाकिया बन्यो विश्वस्तरीय कार उत्पादन केन्द्र

1
1.1K Shares

प्रति व्यक्ति कार उत्पादनको आधारमा युरोपको सानो देश स्लोभाकिया विश्वस्तरीय कार उत्पादक बनेको छ । चीनजस्ता ठूला औद्योगिक राष्ट्रलाई उछिन्दै स्लोभाकियाले यो उपलब्धि हासिल गरेको हो ।

केवल ५४ लाख जनसंख्या भएको स्लोभाकियाले वार्षिक करिब १० लाख कार उत्पादन गर्ने गर्छ । हिउँले ढाकिएका पहाडहरूबीच अवस्थित स्लोभाकियाको जिलिना नजिकै कियाको अत्याधुनिक कारखाना रहेको छ। करिब २.५ अर्ब युरोमा लगानीमा निर्माण गरिएको यस कारखानाले प्रत्येक मिनेट एक कार उत्पादन गर्दै स्लोभाकियालाई विश्व अटोमोबाइल उत्पादनको नक्सामा मजबुत रूपमा स्थापित गरेको छ। यहाँ छ सय ९० वटा रोबोट र दक्ष मानव श्रमिकहरू मिलेर कच्चा धातुलाई आधुनिक सवारी साधनमा रूपान्तरण गर्छन्। किया कारखानामा औसत मासिक तलब २ हजार ४ सय युरो रहेको छ, जुन लिथुआनियाको औसतभन्दा उच्च भए पनि युरोपेली संघको औसतभन्दा अझै कम छ।

स्लोभाकियाको अटोमोबाइल उद्योगले १९८९ को भेल्भेट क्रान्तिपछि तीव्र रूपान्तरण भोगेको हो। त्यसपछि फक्सवागनले स्कोडा अधिग्रहण गरेसँगै विदेशी लगानीको ढोका खुल्यो। हाल यहाँ फक्सवागन, स्टेलान्टिस, जगुआर ल्यान्ड रोभरजस्ता बहुराष्ट्रिय कम्पनीहरू सञ्चालनमा छन्। साथै, २०२७ सम्म भोल्भोको विद्युतीय कार कारखाना सञ्चालनमा आउने तयारीमा छ। कम श्रम लागत र उच्च उत्पादकत्व स्लोभाकियाको मुख्य प्रतिस्पर्धात्मक फाइदा हो। यहाँको श्रम लागत पश्चिमी युरोपको करिब ६० प्रतिशत मात्र भएकाले उत्पादन लागत घटाउन चाहने निर्माताहरूका लागि यो देश आकर्षक गन्तव्य बनेको छ। युरोपको केन्द्रमा अवस्थित भएकाले स्लोभाकियाबाट बेलायतजस्ता प्रमुख बजारमा सहज आपूर्ति सम्भव छ, जहाँ किया चौथो सर्वाधिक बिक्री हुने ब्रान्ड बनेको छ।

1

Scroll to Top