Banijya News

आरविवि मर्चेन्ट बैंकिङ्गको १० औँ वार्षिकोत्सव सम्पन्न

1
1.1K Shares

 राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको छ ।  माघ १५ गते बिहीबार कम्पनीका सञ्चालक समिति अध्यक्ष सरस्वती अधिकारीको सभापतित्व तथा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले स्वागत मन्तव्य राख्दै कम्पनीको १० वर्षको संक्षिप्त वित्तीय प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ मा ०.३५ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी (ईपीएस) आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा २८.८७ रुपैयाँ पुगेको छ। त्यसैगरी, २०७३/७४ मा १००.७५ रुपैयाँ रहेको नेटवर्थ २०८१/८२ मा १३७.८५ रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आय आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्म आइपुग्दा २,२२१.६५ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत नगद लाभांशसहित कुल ७३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई प्रदान गरिएको कम्पनीले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक तथा आरविवि मर्चेन्ट बैंकिङ्ग कोष व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत आरविवि म्युचुअल फण्ड–१, आरविवि म्युचुअल फण्ड–२ तथा आरविवि फोकस ४० गरी तीन सामूहिक लगानी योजनाहरू सञ्चालनमा रहेका छन्। 

आर्थिक वर्ष २०८१/८२ मा आरविवि म्युचुअल फण्ड–१ ले २० प्रतिशत र म्युचुअल फण्ड–२ ले १३ प्रतिशत नगद लाभांश इकाईधनीहरूलाई वितरण गरेको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले कम्पनीका भावी योजना, सम्भावना र चुनौतीहरूबारे समेत प्रकाश पारेका थिए। सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट हितग्राही खाता खोल्ने पाँच शाखा कार्यालय—सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी र इटहरीका शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो। 

साथै, आरविवि मर्चेन्ट बैंकिङ्गको लगानी व्यवस्थापन सेवामार्फत उत्कृष्ट लगानी गर्ने दुई जना ग्राहकलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा कम्पनीका सञ्चालकहरू दुर्गा कुमारी कंडेल, रामकुमार थापा, भीमप्रसाद घिमिरे, कृष्ण श्रेष्ठ र नरेशजंग थापा सहभागी थिए।  विशेष अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाक उपस्थित थिए।

त्यसैगरी, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक तथा आरविवि मर्चेन्ट बैंकिङ्गका पूर्व अध्यक्ष कबिराज अधिकारी, पूर्व अध्यक्ष किरणकुमार श्रेष्ठ, पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, आरविवि म्युचुअल फण्डका कोष सुपरीवेक्षक सि.ए. मधुवीर पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयका विभागीय प्रमुख, शाखा प्रमुख तथा आरविवि मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

1

Scroll to Top