बजारमा खाना पकाउने ग्यास (एलपीजी) को कृत्रिम अभाव देखिएपछि नेपाल आयल निगमले उपभोक्ताको सहजताका लागि टेकुस्थित आफ्नो केन्द्रीय कार्यालयबाटै सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ। विभिन्न ग्यास डिलरहरूमा सिलिन्डर नपाएको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि निगमले आफ्नै परिसरमा बिक्री काउन्टर स्थापना गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउन थालेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाललाई बजारमा अत्यधिक माग रहेको ‘नेपाल ग्यास’ को वितरण सुरु भइसकेको छ। उपभोक्ताको चाप र आवश्यकतालाई हेरेर एभरेस्ट र सुगम ग्यासका काउन्टरहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नियमित डिलरबाट ग्यास पाउन नसकेका उपभोक्ताहरूले खाली सिलिन्डर बोकेर टेकुस्थित कार्यालयमा आएर निर्धारित मूल्यमा सहजै भरिएको सिलिन्डर साट्न सक्ने व्यवस्था मिलाइएको छ।
बजारमा ग्यासको हाहाकार भएको चर्चा चलिरहँदा निगमले भने आयातमा कुनै अवरोध नरहेको स्पष्ट पारेको छ। भन्सार विभागको तथ्याङ्कलाई उद्धृत गर्दै निगमले मागअनुसारकै परिणाममा एलपीजी ग्यास भित्रिरहेको दाबी गरेको छ। आपूर्ति व्यवस्थापन सामान्य रहे पनि बजारमा कतिपय व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको हुनसक्ने भन्दै निगमले अनुगमनलाई समेत तीव्र पारेको छ। उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न र अभावको भ्रममा नपर्न समेत निगमले आग्रह गरेको छ।
पछिल्लो समय जाडो मौसम र अन्य प्राविधिक कारण देखाउँदै केही क्षेत्रमा आपूर्तिमा समस्या देखिएको थियो । वाणिज्य विभागले पनि ग्यास आपूर्तिमा देखिएका जटिलता समाधानका लागि विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ। निगमको यो प्रत्यक्ष बिक्रीको कदमले बजारमा व्याप्त कालोबजारी रोक्न र वास्तविक उपभोक्तालाई राहत पुग्ने विश्वास लिइएको छ।


