चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सुन धितो कर्जा १९.१ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिमा ८४ अर्ब ८० करोड रुपैयाँ रहेको कर्जा बढेर १ खर्ब ९९ करोड रुपैयाँ पुगेको हो। सुनको मूल्य लगातार नयाँ उचाइमा पुगेपछि नागरिक तथा व्यवसायीले सुनलाई सुरक्षित धितोका रूपमा प्रयोग गर्न थालेका छन्।
बैंकिङ प्रणालीमा अन्य क्षेत्रमा कर्जा माग सुस्त बन्दै गएको अवस्थामा सुन धितो कर्जा आकर्षक विकल्पका रूपमा अघि आएको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १४.२ प्रतिशतले बढेको थियो भने चालु आवमा वृद्धि दर झण्डै २० प्रतिशत नजिक पुगेको छ। एक वर्षअघिसम्म करिब १ लाख ५५ हजार रुपैयाँ आसपास रहेको सुनको मूल्य हाल ३ लाख रुपैयाँ नाघेपछि धितो मूल्य स्वतः बढेको छ। धितो मूल्य बढ्दा एउटै परिमाणको सुनबाट बढी रकम कर्जा लिन सकिने भएकाले यसतर्फ आकर्षण बढेको हो।
विशेषगरी घरायसी आवश्यकता तथा साना व्यवसायिक प्रयोजनका लागि सुन धितो कर्जा सहज र छिटो उपलब्ध हुने भएकाले यसको प्रयोग विस्तार हुँदै गएको बैंकहरू बताउँछन्। पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा भने सुनचाँदी धितो कर्जामा उतारचढाव देखिन्छ। २०७९ असारमा ५३ अर्ब २७ करोड रुपैयाँ रहेको यस्तो कर्जा २०७९ पुसमा ५४ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो। २०८० असारमा ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको कर्जा सोही वर्षको पुससम्म २१.४ प्रतिशतले घटेर ५५ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको थियो। तर चालु आवमा सुनको मूल्यसँगै कर्जाको विस्तार दर पुनः तीव्र बनेको छ।
बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा बैंकहरूले सुरक्षित तथा कम जोखिमयुक्त कर्जालाई प्राथमिकता दिन थालेका छन्। सुनचाँदी धितो कर्जामा जोखिम न्यून रहने, असुली प्रक्रिया सरल हुने तथा पूँजी व्यवस्थापनमा सहजता हुने भएकाले बैंकहरूको आकर्षण बढेको देखिन्छ। केही वाणिज्य बैंक तथा वित्तीय संस्थाले बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने योजना सार्वजनिक गरेका छन्। अधिकांश बैंकले ५० लाख रुपैयाँसम्मको सीमा तोकेर यस्तो कर्जा दिइरहेका छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहँदा नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ। मूल्यमा साप्ताहिक उतारचढाव भए पनि दीर्घकालीन रूपमा सुन महँगिँदै जाँदा बैंक तथा ग्राहक दुवै सुरक्षित सम्पत्तिमा आधारित कर्जातर्फ आकर्षित भएका छन्। आगामी महिनाहरूमा पनि सुनको मूल्य उच्च रहिरहे सुन धितो कर्जाको विस्तार दर अझै बढ्ने अनुमान गरिएको छ।
किन बढ्दैछ सुन
तुलनात्मक रूपमा नेपाली बजारमा सुनको मूल्य आन्तरिक नभई अन्तर्राष्ट्रिय कारणले बढेको व्यवसायी बताउँछन् । सुनको मूल्य दैनिक ठूलो आकारमा वृद्धि हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय आर्थिक गतिविधि र विश्वका धनाढ्यले यसमा लगानी गर्नु रहेको जानकार बताउँछन् । सुनको मूल्यबृद्धि हुनु अन्र्तराष्ट्रि बजारमा भएको खेलपनि हो । अन्र्तष्ट्रिय बित्त बजारमा जानकारहरुका अनुसार अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर अझै घटाउने संकेत गरेका कारण विश्वबजारमा सुनको मूल्यमा प्रत्यक्ष प्रभाव परेको हो । अमेरिकाकै नीतिमा आधारित रहेर विश्वभरका धनाढ्य व्यक्तिहरूले क्रिप्टोकरेन्सीजस्ता विदेशी मुद्राहरूको सट्टा सुन किनेर स्टक (भण्डारण) गर्ने योजना बनाएकाले पनि मूल्यमा अचानक वृद्धि आएको हो । उनीहरुका अनुसार विश्वका ठूला लगानीकर्ता र धनाढ्यहरूले सुरक्षित लगानीका रूपमा सुनलाई रोज्दै ठूलो परिमाणमा खरिद गर्न थालेकाले बजारमा यसको माग र मूल्य दुवै बढेको हो ।
मूल्य हालसम्मकै उच्च भएको दिन (माघ १५) देशभित्रको ‘बैंकिङ प्रणाली’मा ६७ किलो सुन रहेको संघका अध्यक्ष अनिल शर्माले जानकारी दिए । त्यसको अघिल्लो साता प्रणालीमा १२० किलो सुन थियो । व्यवसायीका अनुसार, हाल समग्र सुन कारोबार सुस्त छ । सुनको व्यापार हुने खासै सिजन नभएकाले पनि कारोबारमा कमी आएको व्यवसायी बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आ.व. ०८२/८३ को ६ महिनासम्म नेपालमा १९ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको सुन आयात भएको छ । यो गत आ.व.को सोही अवधिको तुलनामा १९३.१३ प्रतिशतले बढी हो । गत आ.व.को ६ महिनामा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँको सुन आयात भएको थियो ।


