फागुन कृष्ण चतुर्दशीको कालो रात, जब आकाशका ताराहरू पनि धर्तीको प्रकाशभन्दा मधुरो देखिन्छन्, तब ब्रह्माण्डको एउटा कुनाबाट अर्को कुनासम्म एउटा अदृश्य ऊर्जाको सञ्चार हुने विश्वास गरिन्छ । हिन्दू धर्मवलम्बीहरूको महान् पर्व महाशिवरात्रि केवल एउटा चाड मात्र नभएर, यो कैलाश पर्वतको शून्यता र पशुपतिनाथको जीवन्तताबीचको एउटा रहस्यमयी पुल हो । हरेक वर्ष यसै रात कैलाशदेखि पशुपतिसम्म एउटा यस्तो आध्यात्मिक यात्रा सुरु हुन्छ, जसको रहस्य आजसम्म विज्ञानले भन्दा बढी विश्वासले व्याख्या गर्दै आएको छ ।
कैलाशको शून्यता र पशुपतिको कोलाहल
पौराणिक मान्यता अनुसार, महाशिवरात्रिको रात भगवान् शिव आफ्नै निवासस्थान कैलाशबाट बागमती नदीको किनारामा रहेको मृगस्थली र पशुपति क्षेत्रमा विचरण गर्न आउँछन् । यस विशेष रातलाई शिव र शक्तिको पावन मिलनका रूपमा मात्र नहेरी ब्रह्माण्डको केन्द्रसँग पृथ्वीको सिधा साक्षात्कार हुने एक दुर्लभ खगोलीय र आध्यात्मिक समयका रूपमा समेत व्याख्या गरिएको छ। हिमालयको काखमा रहेको कैलाश पर्वतलाई शिवको शिर मानिन्छ भने पशुपतिनाथलाई उनको हृदय । यी दुई विन्दुबीचको सम्बन्धलाई नै शिवरात्रिको रहस्यमयी आध्यात्मिक रात भनिएको हो ।
पशुपति क्षेत्रमा यस दिन देखिने दृश्यहरू कुनै चलचित्रको काल्पनिक दृश्यभन्दा कम हुँदैनन् । शरीरभरि खरानी घसेका नागा बाबा, जटाधारी साधुहरू र ध्यानमग्न भक्तहरूको भीडले एउटा छुट्टै संसारको अनुभूति गराउँछ । यो भीडभाडको बीचमा पनि एउटा यस्तो शान्ति लुकेको हुन्छ, जुन केवल साधकहरूले मात्र महसुस गर्न सक्छन् । भनिन्छ, शिवरात्रिको मध्यरातमा पशुपतिनाथको गर्भगृहमा एउटा विशेष ऊर्जा उत्पन्न हुन्छ, जसको सीधा सम्बन्ध मानसरोवर र कैलाश मानसखण्डसँग छ । शिवरात्रिको चार प्रहरको पूजाको आफ्नै महत्त्व छ । पहिलो प्रहरमा दूध, दोस्रोमा दही, तेस्रोमा घिउ र चौथो प्रहरमा महले गरिने स्नान केवल धार्मिक विधि मात्र होइन ।
योगीहरूका अनुसार, यो प्रक्रियाले मानव शरीरका सात चक्रहरूलाई जागृत गर्ने संकेत गर्दछ । सबैभन्दा ठूलो रहस्य त मध्यरातको महानिशा मा लुकेको हुन्छ । तन्त्र शास्त्रका अनुसार, शिवरात्रिको रात पृथ्वीको उत्तरी गोलार्धमा ऊर्जाको बहाव यस्तो दिशामा हुन्छ कि मानव शरीरको मेरुदण्ड सीधा राखेर बस्दा प्राकृतिक रूपमै कुण्डलिनी शक्ति जागृत हुने सम्भावना रहन्छ । यही कारणले गर्दा कैलाशदेखि पशुपतिसम्मका गुफाहरूमा हजारौँ वर्षदेखि साधुहरू यसै रातको प्रतीक्षामा रहने गर्छन् । उनीहरूको विश्वास छ कि यस रात शिव स्वयंले आफ्ना भक्तहरूको कष्ट हरण गर्न र उनीहरूलाई मोक्षको मार्ग देखाउन धर्तीमा पाइला टेक्छन् ।
साधु र नागाहरूको रहस्यमयी संसार
पशुपति क्षेत्रमा शिवरात्रिको मुख्य आकर्षण भनेकै विभिन्न सम्प्रदायका साधुहरू हुन् । भारतका विभिन्न कुना, विशेष गरी गढवाल, बनारस र अमरनाथबाट आएका साधुहरूले पशुपतिलाई कैलाशको दोस्रो रूप मान्छन् । नागा बाबाका अखडाहरूमा बलिरहेको धुनी र उनीहरूको मुखबाट निस्कने बम बम भोले को ध्वनीले वातावरणलाई गुञ्जायमान र शक्तिशाली बनाउँछ ।
साधुहरूका अनुसार, शिवरात्रि एउटा यस्तो झ्याल हो, जसबाट मानिसले आफ्नो अन्तर्मनको देवतालाई देख्न सक्छ । उनीहरू भन्छन्, शिव कतै टाढा छैनन्, उनी त कैलाशको हिउँमा पनि छन् र पशुपतिको खरानीमा पनि। यस रात साधुहरूले गर्ने विशेष तान्त्रिक अनुष्ठान र ध्यानका विधिहरू अझै पनि आम मानिसका लागि एउटा नसुल्झिएको रहस्य नै बनेको छ । आधुनिक जीवनको तीव्र दौडधुप र व्यस्तताका बाबजुद महाशिवरात्रिको आध्यात्मिक सान्दर्भिकता घट्नुको सट्टा झन् प्रगाढ र व्यापक बन्दै गएको पाइन्छ । केवल धार्मिक आस्था भएकाहरू मात्र होइन, युवा पुस्ता र विदेशी पर्यटकहरू पनि यस रातको भाइब अनुभव गर्न पशुपति पुग्ने गर्छन् । कैलाशको चिसो हावा र पशुपतिको तातो धुनीको यो अनुपम सङ्गमले मानिसलाई भौतिक संसारबाट केही समयका लागि भए पनि टाढा लैजान्छ ।
पशुपति क्षेत्र विकास कोषले यस वर्ष पनि १० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरेको छ । तर, ती लाखौँ आँखाका बीचमा कतिले त्यो रहस्यमयी रातु को वास्तविक ऊर्जालाई चिन्न सक्छन् भन्ने कुरा व्यक्तिगत अनुभूतिमा निर्भर गर्दछ । पशुपतिनाथको मन्दिर वरपर बालिएका हजारौँ दियोहरूले रातको अँध्यारोलाई चिरे झैँ, शिवरात्रि प्रत्येक मानिसभित्रको अज्ञानताको अँध्यारोलाई चिर्ने पर्व पनि हो।
कैलाशदेखि पशुपतिसम्मको यो यात्रा भौगोलिक दूरी मात्र नभएर, आत्माको परमात्मासँगको साक्षात्कार हो । जबसम्म मानिसले आफ्नो अहंकारलाई शिवको पाउमा चढाउन सक्दैन, तबसम्म शिवरात्रिको वास्तविक फल प्राप्त हुँदैन । फागुनको यो रात, बागमतीको कञ्चन पानी , मृगस्थलीको जङ्गल र पशुपतिनाथको स्वर्ण शिखर– सबै मिलेर एउटा यस्तो कथा बुनिरहेका हुन्छन्, जुन केवल महसुस गर्न सकिन्छ । त्यसैले त भनिन्छ, शिवरात्रि केवल एउटा पर्व होइन, यो त कैलाशको शून्यतालाई पशुपतिको अस्तित्वसँग जोड्ने एक रातको रहस्यमयी आध्यात्मिक यात्रा हो ।


