निर्माणको ९८ प्रतिशत काम सकिए पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउन सकेको छैन । सुरुङ सञ्चालन गर्ने सेवा प्रदायक छनोट प्रक्रिया लम्बिँदा कहिलेबाट सुरुङ सञ्चालनमा आउँछ भन्नेमा आयोजना स्वयं प्रस्ट छैन । सेवा प्रदायक छानिएपछि मात्र यसको सञ्चालनको मिति तय गर्ने आयोजना कार्यालयको तयारी छ । अहिले १० वटा सेवा प्रदायक बोलपत्र प्रक्रियामा सहभागी छन् । ती कम्पनीको प्राविधिक पक्षको मूल्यांकन भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । प्राविधिक मूल्यांकनको काम १५ माघभित्र सकिने आयोजनाको दाबी थियो । तर यो प्रक्रिया अझै टुंगिएको छैन । अर्को साताभित्र यसको प्रक्रिया टुंगिने छ ।
प्राविधिक पक्षबाट छानिएका कम्पनीको मात्र आर्थिक प्रस्ताव हेरिनेछ । फागुन अन्तिमसम्म सम्झौता गरेर छानिएको कम्पनी फिल्डमा पुग्ने आयोजनाको भनाइ थियो । सुरुङमार्ग सञ्चालनका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सेवा प्रदायक छान्न पहिलो पटक आयोजनाले गत १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । यसअनुसार बोलपत्र बुझाउने अन्तिम म्याद २ पुससम्म थियो । तर अन्तर्राष्ट्रिय निर्माण कम्पनी र नेपाली निर्माण व्यवसायीको मागअनुसार पहिलो पटक १६ पुससम्म म्याद थप गरियो ।
यस अवधिमा निर्माण व्यवसायीबाटै आयोजनाले राखेका प्रावधानका केही बुँदामा स्पष्ट हुन नसकिएको भन्दै स्पष्ट पार्न माग आएपछि ३० पुससम्मलाई समय थपिएको थियो । प्रतिस्पर्धामा समेटिएका १० वटा विदेशी कम्पनीसँग सबै नेपाली कम्पनी जेभी छन् । १ सय ५० जना जनशक्तिका लागि तालिमको समय दुई महिना छुट्याइएको छ । चीन सरकारको स्वामित्वमा रहेका र कालोसूचीमा परेका कम्पनी छान्न नहुने जापान सरकारले अडान लिए पनि अहिले सेवा प्रदायकको प्रतिस्पर्धामा सबैभन्दा बढी कम्पनी चिनियाँ नै छन् । सुरुङ सञ्चालन गर्ने प्रतिस्पर्धामा ६ वटा चिनियाँ, ३ वटा भारतीय र एउटा टर्किस कम्पनी छन् । यस अवधिमा निर्माणको जिम्मा लिएको कम्पनीले काम सम्पन्न भएपछि सडक विभागलाई सुरुङ हस्तान्तरण गर्नेछ ।
अन्तर्राष्ट्रिय बोलपत्र भएकाले यसमा नेपाली कम्पनीसँग विदेशी कम्पनीले अनिवार्य रूपमा जोइन्ट भेन्चर गर्नुपर्ने प्रावधान छ । सबै कम्पनीसँग नेपाली कम्पनी जोइन्ट भेन्चरमा छन् । यस्तो प्रावधानले सुरुङ सञ्चालन गर्न नेपाली प्राविधिक तयार हुने र पछि नेपाली आफैंबाट सुरुङ सञ्चालन गर्न सहज हुने आयोजनाले बताएको छ । अहिले छानिने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।
पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । चौबीसै घण्टा सेवा प्रदायकले ३ सय ६५ दिन नै सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ । सञ्चालन गर्न लाग्ने लागत भने सरकारले बेहोर्ने र छानिने सेवा प्रदायकले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ । यसको अनुगमन सडक बोर्ड नेपालले नै गर्नेछ । अहिले सेवा प्रदायक छनोट, टोल प्लाजा निर्माण र धादिङतर्फ पहिरो व्यवस्थापनको काम मात्र बाँकी छ ।
निर्माणका क्रममा पहिरो व्यवस्थापन, परामर्श सेवालगायतमा रकम अपुग भएर जापानसँग थप ऋण लिने तयारीमा रहेको आयोजनाले जनाएको छ । यसका लागि नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले टुंग्याउनुपर्ने भए पनि अहिलेसम्म टुंगिनसकेको आयोजनाको भनाइ छ । अहिले करिब साढे ५ अर्ब रुपैयाँ ऋण थप गर्न लागिएको हो । माग गरिएको रकम थप भए जापानसँग सुरुङ निर्माणको ऋण साढे २१ अर्ब रुपैयाँ पुग्नेछ । अहिले जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।
४ कात्तिक २०७६ मा सुरुङ निर्माण थालिएको हो । यसअनुसार निर्माण थालेको ४२ महिनाभित्र काम सक्नुपर्ने हो । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।


