Banijya News

स्रर्किट ब्रेकर प्रणालीलाई खुकुलो बनाउँदै बोर्ड

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू हुने सर्किट ब्रेकर प्रणालीलाई समयसापेक्ष र प्रभावकारी बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सुधार प्रस्ताव तयार गर्न निर्देशन दिएको छ। बोर्ड स्रोतका अनुसार, हालको सर्किट ब्रेकर व्यवस्था वैज्ञानिक र समसामयिक नभएको लगानीकर्ताबाट बढ्दो गुनासो आएपछि पुनरावलोकन गर्ने तयारी गरिएको हो।

निर्वाचन बिदापछि खुलेको सेयर बजारको पहिलो कारोबारमै बजारमा तीव्र उत्साह देखिएपछि यो विषय थप चर्चामा आएको हो। सोमबार बिहान खुलेको नेप्सेमा सुरुदेखि नै उच्च खरिद चाप देखिएको थियो। कारोबार सुरु भएको केही समयमै बजार परिसूचक तीव्र रूपमा बढ्दै ६ प्रतिशत सकारात्मक सर्किट लागेपछि सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको थियो।

कारोबार सुरु भएको पहिलो चरणमा बजार जम्मा १ मिनेट १० सेकेन्ड मात्र खुला रह्यो। यस अवधिमा नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। बजार पुनः ११:२१ बजे खुले पनि लगानीकर्ताको खरिद चाप झन् बढेको देखियो। खुल्नेबित्तिकै करिब २० सेकेन्डमै सूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकर सक्रिय भयो र बजार फेरि ४० मिनेटका लागि रोकियो।

त्यसपछि बजार १२:०१ बजे पुनः खुलेको थियो। तर यसपटक पनि कारोबार लामो समय टिक्न सकेन। करिब २५ सेकेन्डमै सूचक ६ प्रतिशतले बढेपछि नेप्सेको नियमअनुसार दिनभरका लागि कारोबार पूर्ण रूपमा बन्द गरिएको हो। यसरी सोमबार कुल १ मिनेट ४५ सेकेन्ड मात्र वास्तविक कारोबार हुन सकेको थियो।

छोटो समयका लागि मात्रै कारोबार भए पनि लगानीकर्ताको सक्रियता भने उल्लेखनीय देखिएको थियो। दिनभरको कुल कारोबार रकम करिब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ। कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक १६२.९३ अंकले बढेर २,८७५.४३ विन्दुमा पुगेको थियो।विश्लेषकहरूका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले लगानीकर्तामा सकारात्मक मनोविज्ञान सिर्जना गरेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले बलियो जनमत प्राप्त गरेपछि स्थिर सरकार बन्ने अपेक्षा बढेको र त्यसले पूँजीबजारमा आशा जगाएको विश्लेषण गरिएको छ।

हाल नेप्सेमा लागू रहेको सर्किट ब्रेकर प्रणालीअनुसार बजार परिसूचक ४ प्रतिशतले बढे वा घटेमा पहिलो चरणको सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिन्छ। त्यसपछि ५ प्रतिशतको उतारचढाव हुँदा दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार रोक्ने व्यवस्था छ।

यदि बजार ६ प्रतिशतले बढे वा घटेमा भने सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिने नियम छ। यो व्यवस्था बजारमा अत्यधिक उतारचढाव नियन्त्रण गर्न तथा लगानीकर्तालाई आकस्मिक निर्णयबाट जोगाउन बनाइएको हो। यसअघि २०२४ मार्च ४ मा पनि बजार ६ प्रतिशतले बढेर सूचक करिब २,०७८ विन्दुमा बन्द भएको थियो।

बजार विश्लेषकहरूका अनुसार सर्किट ब्रेकर प्रणालीले अत्यधिक उतारचढाव नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि हालको संरचना समयसापेक्ष परिमार्जन आवश्यक भएको चर्चा बढ्दै गएको छ। यही सन्दर्भमा धितोपत्र बोर्डले नेप्सेलाई सुधारका सम्भावित विकल्पसहित प्रस्ताव ल्याउन निर्देशन दिएको हो।

1

Scroll to Top