जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्।उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए। यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक थ्रेसहोल्डसमेत कटाउन नसकेर खुम्चिन पुग्यो।
संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने बताएका छन्। ‘दुई पटक व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेँ। एक पटक जितेँ, एक पटक हारेँ। तर दुवै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुसी नै छु,’ उनले भनेका छन्। २०७५ सालमा ‘स्वतन्त्र मधेस गठबन्धनलाई सरकारले कुनै काम गर्न नदिएपछि र जनतामा जान पूर्णतः रोक लगाएपछि पार्टी खोल्नुपर्यो’ भनेर निर्णय गरेको उनले बताएका छन्।


