Banijya News

अर्थमन्त्रीको प्रगति विवरण : दुई हजार बढी आयोजनाको ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा

1
1.1K Shares

अर्थमन्त्री रामेश्वर खनालले आफ्नो कार्यकालमा दुई हजार ४२ वटा आयोजनामा ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा गरिएको जानकारी दिएका छन्। उनले प्रतिनिधिसभाको निर्वाचन स्रोत सुनिश्चित गर्नेदेखि अर्थ मन्त्रालयमा डिजिटल प्रणाली थालनीसम्मको समग्र ८७ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। खनालले जेन–जी विद्रोहपछिको सरकारमा ३० भदौ ०८२ देखि अर्थमन्त्री र ७ असोजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। उनले प्रगति विवरणमा भनेका छन् कि निर्वाचन सञ्चालनका लागि विद्यमान बजेटकै सीमाभित्र १९ अर्ब ६० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिएको थियो। साथै, अनुपयोगी खर्च र आर्थिक प्रतिफल नदिने आयोजनाहरूमा १ खर्ब ९१ अर्ब रुपैयाँ स्थगन राखिएको भए पनि दुई हजार ४२ आयोजनामा ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा गरिएको छ।

सार्वजनिक प्रगति विवरणअनुसार निर्वाचन, बजेट व्यवस्थापन र प्रशासनिक सुधारका चुनौतीपूर्ण अवस्थाबीच मन्त्रालयले आर्थिक अनुशासन कायम गर्दै आवश्यक आयोजनालाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ । जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा ३० भदौदेखि अर्थ मन्त्रालय सम्हालेका खनालले प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोत व्यवस्थापनलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार विद्यमान बजेटको सीमाभित्रै रहेर निर्वाचन सञ्चालन तथा सुरक्षाका लागि १९ अर्ब ६० करोड रुपैयाँ सुनिश्चित गरिएको थियो ।

यसै क्रममा आर्थिक रूपमा प्रभावहीन, तयारी नपुगेका तथा तत्काल आवश्यक नदेखिएका आयोजनामा विनियोजित एक खर्ब ९१ अर्ब रुपैयाँ स्थगन गरिएको थियो । तर, मन्त्रालयहरूको सिफारिसका आधारमा निरन्तरता आवश्यक ठहरिएका दुई हजार ४२ आयोजनाका लागि ५२ अर्ब ९० करोड रुपैयाँ फुकुवा गरिएको विवरणमा उल्लेख छ । अर्थमन्त्री खनालले प्रशासनिक सुधारतर्फ डिजिटल प्रणालीको कार्यान्वयनलाई महत्वपूर्ण उपलब्धि मानेका छन् । ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’ पूर्ण रूपमा लागू गरिएकाले निर्णय प्रक्रियामा पारदर्शिता बढेको र अन्तिम तहमा पुगेका निर्णय २४ घण्टाभित्र टुंगिने गरेको दाबी गरिएको छ ।

राजस्व प्रशासन सुधारअन्तर्गत करदाता सेवा कार्यालयहरू खारेज गरी सेवा जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत विस्तार गरिएको तथा स्थानीय तहबाट समेत सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताएका छन् । यसले करदातालाई सहजता प्रदान गर्नुका साथै राजस्व आधार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, अनलाइनबाट करचुक्ता प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था, राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आबद्धता, कर अनुसन्धान इकाइ तथा वैदेशिक लगानी समन्वय इकाइ स्थापना, राजस्व चुहावट नियन्त्रण केन्द्र गठनलगायतका सुधार कार्यक्रम अघि बढाइएको जनाइएको छ ।

प्रगति विवरणमा जेन–जी विद्रोहका क्रममा क्षति पुगेका मन्त्रालय भवनको पुनर्निर्माण सम्पन्न गरिएको तथा आगामी आर्थिक वर्षको बजेट तयारीसम्बन्धी कार्यसमेत अघि बढाइएको उल्लेख छ । अर्थमन्त्री खनालका अनुसार ०८२ भदौ ३० देखि ०८२ फागुन मसान्तसम्मको अवधिमा उनले ६ सयभन्दा बढी बैठक बसेका छन् भने ८ सय २८ वटा निर्णय गरेका छन् ।

अर्थमन्त्री खनालले प्रगति विवरण सार्वजनिक गर्दै भनेका छन् “निर्वाचन आयोगले सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गरेकोमा आयोगलाई बधाई ! यो सँगै पूर्ण बहुमतको नयाँ सरकार बन्ने भएकाले भोलीदेखि मन्त्रालयमा मन्त्रीस्तरका निर्णयहरूमा सरिक हुन उपयुक्त हुँदैन। कार्यकालमा आजसम्मको कामको प्रतिवेदन यस प्रकार छः”

1

Scroll to Top