Banijya News

एमालेले कार्यकर्तालाई प्रशिक्षण दिएर मात्रै प्रदर्शन गर्ने

1
1.2K Shares

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध सडक प्रदर्शनमा उत्रिएको नेकपा एमालेले अब पहिला कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेसम्म देशभर जिल्लास्तरमा वृहत कार्यकर्ता भेला गरी प्रशिक्षण गर्ने निर्णय गरेको हो। ‘चैत २४ गतेसम्म सबै जिल्ला कमिटीको आयोजना जिल्लास्तरमा वृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारे प्रशिक्षित गर्ने निर्णय भएको छ।’ बैठकपछि महासचिव शंकर पोखरेलले भने।

उनका अनुसार प्रशिक्षण सकेपछि विरोधका कार्यक्रम अघि बढाउने एमालेको तयारी छ। आकस्मिक रुपमा आयोजना गरिएकाले आन्दोलनमा उपस्थिति न्यून भए पनि सन्देशका हिसाबले प्रभावकारी रहेको महासचिव पोखरेलको दाबी छ। उनले अब आधारभूत तहदेखि नै आन्दोलनलाई सशक्त बनाउने योजनामा आफूहरु रहेको पनि बताए। ‘अबको हाम्रो आन्दोलनमा सहभागिता रहनेछ। हिजो हामीले सन्देश दिन खोजेका थियौं। अब जनताको ब्यापक सहभागितमा आन्दोलन हुन्छ।’ पोखरेलले भने।

चैत २८ गते देशभरका सबै पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने, २०८३ वैशाख ३ गते सबै वडामा वडा भेला तथा विरोध प्रदर्शन गर्ने र वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए। त्यस्तै वैशाख १२ गते काठमाडौंमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने निर्णय भएको उनले बताए। बैठकले एमालेको प्रदर्शनमा प्रहरीले गरेको दमनको निन्दा एवं भत्सर्ना गर्ने निर्णय पनि गरेको छ। सुर्खेतमा प्रहरीले एमाले जिल्ला पार्टी कार्यालयभित्रै प्रवेश गरी कुटपीट गरेको र काठमाडौंमा अत्यधिक बल प्रयोग गरेको भन्दै एमालेले विरोध गरेको महासचिव पोखरेलले बताए।

1

Scroll to Top