Banijya News

कच्चा पदार्थ अभावले सात सय प्लास्टिक उद्योग बन्द हुने अवस्थामा

1
1.1K Shares

कच्चा पदार्थ अभावले मुलुकभर झण्डै सात सय प्लास्टिक उद्योग बन्द हुनसक्ने अवस्थामा पुगेका छन्। पश्चिम एशियामा द्वन्द्व बढेसँगै नेपालका प्लास्टिक उद्योगमा कच्चा पदार्थको अभाव सुरु भएको हो । एक महिनाभित्र कच्चा पदार्थ आपूर्ति नहुने अवस्था भए झण्डै सात सय उद्योगहरू बन्द हुन पुग्ने र करिब ५० हजार मजदुर तथा कर्मचारीको रोजगार गुम्ने खतरा रहेको उद्योगीहरूले बताएका छन् ।

नेपालका प्लास्टिक उद्योगहरूले मासिक ३० हजार टन प्लास्टिक दानालगायत कच्चा पदार्थ प्रयोग गर्छन्। यी उद्योगहरूले प्लास्टिकका थैली, दूधको प्याकेट, स्लाइन बोतल, छाना छोप्ने पाता र घरेलु भाँडाकुँडा उत्पादन गर्दै आएका छन्। उद्योग बन्द भएमा प्याकेजिङमा आधारित अन्य उद्योगहरू पनि प्रभावित हुने मोरङ उद्योग व्यापार संघका सचिव अमित राठीले बताए।उनका अनुसार भारतीय व्यावसायीले एलसीमार्फत पठाउनुपर्ने प्लास्टिकको कच्चा पदार्थ तीन महीना भइसक्दा पनि नपठाएको कारण उद्योगहरू संकटमा परेका हुन् । उनीहरूले एलसीलाई बेवास्ता गर्दै प्रतिटन थप २०० देखि ३०० डलरसम्म थप रकम तिर्नुपर्ने बताएपछि नेपाली उद्योगमा कच्चा पदार्थको समस्या गहिरिन थालेको हो ।

स्ट्रेट अफ हर्मुजमा पानीजहाज आवागमन अवरुद्ध भएका कारण तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउन नसकिने र भारतबाट ल्याउँदा त्यहाँका व्यवसायीको मनोमानीका कारण नेपाली उद्योगहरू कच्चा पदार्थको संकटमा परेका हुन् । भारतीय उद्योगी व्यवसायीले साफ्टाअन्तर्गतको सुविधा प्रयोग गरे पनि नेपाली उद्योगीहरूलाई त्यसमा समेत बेवास्ता गरेको राठीको भनाइ छ । प्लास्टिकको कच्चा पदार्थ अभाव भएपछि नेपाली बजारमा प्याकेजिङको कारण सबै वस्तुको २० प्रतिशत मूल्यवृद्धि हुनेछ भने प्लास्टिकका तयारी वस्तुको मूल्य ५० प्रतिशतसम्म बढ्ने व्यवसायी बताउँछन् ।

पश्चिम एशियामा युद्ध शुरू हुनुअघि नेपाली बजारमा प्लास्टिक प्रतिकिलो १७५ रुपैयाँमा पाइने गरेकोमा अहिले कच्चा पदार्थ अभावको कारण ३२५ रुपैयाँ पुगेको छ । भारतीय व्यवसायीले स्थानीय बजारमा उनीहरूकै उद्योगलाई १ हजार ४०० डलरमा विक्री गरिरहेको प्लास्टिक दानालगायत कच्चा पदार्थ नेपाली उद्योगका लागि भने १ हजार ६०० डलर मूल्य तोकेपछि प्लास्टिक उत्पादकहरूले सरकारलाई समस्या समाधानका लागि आग्रह गरेका छन् । राठी भन्छन्, ‘नेपाली उद्योगमा स्टकमा कच्चा पदार्थ छैन । चीनबाट मगाउँदा सामान आइपुग्न तीन महीना लाग्छ । अर्कोतर्फ भारतीय व्यवसायीले एलसीको माल पनि दिइरहेका छैनन् । यही अवस्था रहे एक महीनामा ७०० उद्योग बन्द हुन्छन्, ५० हजारले रोजगारी गुमाउँछन् ।’

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष तथा एमएम प्लास्टिकका सञ्चालक सुयशराज प्याकुरेलले अन्तरराष्ट्रिय बजारमा प्लास्टिक दानाको मूल्य ९०० देखि एक हजार डलर रहेको बेला उद्योगीहरूले एलसीमार्फत सामान मगाएका थिए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष तथा एसपीएल प्लास्टिकका सञ्चालक अनुपम राठीका अनुसार युद्ध रोकिने अवस्था नरहेकाले कच्चा पदार्थ अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।

‘एलसीमार्फत खरीद गरिएको ५० हजार टन प्लास्टिक दानालगायत कच्चा पदार्थ तीन महीनादेखि भारतीय व्यवसायीले अड्काएर राखेका छन्, जसको असर नेपालका उद्योगहरूमा देखिएको छ,’ राठीले भने । उनका अनुसार नेपाल सरकारले भारत सरकारसँग सोझै कुरा गरेर एलसीको सामान थोरै थोरै परिमाणमा भए पनि पठाउने व्यवस्था गरे केही सहज हुन्छ, नत्र उद्योगहरू एक महीनाभित्रै बन्द हुनेछन् । समस्या समाधानका लागि सरकारले चाँडै कदम चाल्नुपर्ने र भारतका व्यवसायीले जसरी त्यहाँका उद्योगलाई कच्चा पदार्थ दिइरहेका छन् त्यसरी नै नेपालका उद्योगलाई दिने व्यवस्था मिलाउनुपर्ने राठीले बताए । भारतीय सरकारी उद्योगमार्फत नेपालका लागि कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउन भारत सरकारसँग पहल भएमा त्यसबाट सकारात्मक परिणाम आउन सक्ने प्याकुरेलको बुझाइ छ ।

1

Scroll to Top