पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रभावशाली केन्द्रीय सदस्य वामदेव गौतमले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई एक विशेष खुला पत्र लेख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राखिएको विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा बालेनलाई बधाई दिँदै गौतमले वर्तमान सरकारले अपनाएको पक्राउको शैलीप्रति कडा असन्तुष्टि गरेका हुन ।
गौतमले आफ्नो पत्रमा ७४ वर्ष पुगिसकेका वृद्ध र शारीरिक रूपमा समेत अत्यन्तै अस्वस्थ रहेका नेता केपी शर्मा ओलीलाई अपमानित हुने गरी थुनामा राखिनु राजनीतिक र मानवीय दुवै दृष्टिकोणले अक्षम्य भएको टिप्पणी गरेका छन । । उनले कुनै पनि व्यक्तिलाई दोषी करार नगर्दै र कानुनी परीक्षणमा नलगी अपराधीको जस्तो व्यवहार गरिनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने जिकिर गरेका छन ।
पत्रमा गौतमले गत भदौ २३ र २४ गते भएको चर्चित ुजेनजीु आन्दोलन र त्यसपछि मुलुकमा विकसित भएका जटिल राजनीतिक घटनाक्रमहरूको विस्तृत स्मरण गराएका छन । तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र आन्दोलनका क्रममा १९ जना नागरिकको ज्यान गएको दुःखद घटनापछि आफूले नै तत्कालीन प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएको प्रसङ्ग समेत उनले उल्लेख गरे ।
ओलीको राजीनामादेखि प्रतिनिधिसभाको विघटन, सुशीला कार्कीको मनोनयन र गत फागुन २१ गते सम्पन्न निर्वाचनसम्मका महत्वपूर्ण राजनीतिक प्रक्रियामा ओलीको पनि सकारात्मक र रचनात्मक योगदान रहेको गौतमको तर्क छ। तर, यति लामो राजनीतिक इतिहास बोकेको र लोकतान्त्रिक प्रक्रियामा सामेल नेतालाई कुनै ठोस कानुनी प्रमाण बिना नै एकाबिहानै घर घेराउ गरी पक्राउ गरिनुले कानुनी राज्यको उपहास गरेको उनको बुझाइ छ।
पूर्वगृहमन्त्रीको अनुभव समेत समेट्दै गौतमले लेखेका छन, ‘कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि लागेको आरोप पहिला स्वतन्त्र अदालतबाट प्रमाणित हुनुपर्छ। छानबिन प्रतिवेदनको ठोस निष्कर्ष र अदालती प्रक्रिया पूरा नगरी गरिने यस्ता कारबाहीले न्यायको गला रेट्ने काम गर्छ। संसारका कतिपय मृत्युदण्ड दिइने देशहरूमा समेत दोषीलाई अन्तिम इच्छा सोधिने न्यूनतम मानवीयता देखाइन्छ, तर यहाँ त परीक्षण नै नगरी रातारात घर घेरेर समात्ने शैली अपनाइयो, जुन अत्यन्तै खेदजनक छ।’
अन्त्यमा, गौतमले वर्तमान सरकारलाई यो गल्ती तुरुन्त सच्याउन र वृद्ध एवं अस्वस्थ राजनीतिक व्यक्तित्वलाई अनाहकको शारीरिक र मानसिक सकस नदिन विशेष अनुरोध गरेका छन । उनले प्रधानमन्त्री बालेन शाहको कार्यकालको सफलताको कामना गर्दै मुलुकलाई न्यायपूर्ण, कानुनी र संयमित ढंगले अगाडि बढाउन महत्वपूर्ण सुझाव समेत दिएका छन ।


