Banijya News

८८ दिनमा २६ लाख लाइसेन्स छाप्ने लक्ष्य, कसरी हुँदैछ काम ?

1
1.1K Shares

सरकारले स्वीकृत गरेको सय दिने शासकीय सुधार कार्यसूचीअन्तर्गत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई र वितरणलाई प्राथमिकतामा राख्दै अबको ८८ दिनभित्र २६ लाख लाइसेन्स सेवाग्राहीसम्म पुर्‍याउने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। १३ चैतमा मन्त्रिपरिषद् बैठकबाट पारित उक्त कार्यसूचीमा लाइसेन्स छापेर ‘गभरमेन्ट कुरियर सर्भिस’मार्फत घरघर पुर्‍याउने योजना समेटिएको छ।

लामो समयदेखि लाइसेन्स नपाएर हैरान बनेका सेवाग्राहीका लागि यो घोषणा आशाको किरण बने पनि कार्यान्वयन पक्षमा भने अझै चुनौतीहरू देखिएका छन्। सन् २०२२ देखि राजस्व तिरेका हजारौं सेवाग्राहीले अहिलेसम्म लाइसेन्स प्राप्त गर्न सकेका छैनन्। नयाँ लाइसेन्स लिने र नवीकरण गर्ने दुवै समूहका सेवाग्राही चिर्कटो (रसीद) बोकेर हिँड्न बाध्य छन्, जसले सेवाप्रति असन्तुष्टि बढाएको छ।

यातायात व्यवस्था विभागका अनुसार सुरुमा करिब २७ लाख लाइसेन्स छपाइ गर्न बाँकी रहेको अनुमान गरिए पनि पछिल्लो तथ्यांकअनुसार यो संख्या बढेर करिब २९ लाख पुगेको छ। दैनिक ‘इमरजेन्सी’, नयाँ आवेदन तथा नवीकरणसहित करिब ४ हजारको दरले थपिँदै गएकोले वास्तविक संख्या अझै परिवर्तनशील रहेको विभागले जनाएको छ। हालसम्म ३ लाखभन्दा बढी लाइसेन्स मात्र छापिएको छ। पछिल्लोपटक थप ३ लाख ९७ हजार लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रमा पठाइएको विभागका अधिकारीहरूले बताएका छन्। विभागका अनुसार छपाइ भएर आएका लाइसेन्सहरू हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाउने काम भइरहेको छ।

सुरक्षण मुद्रण केन्द्रले भने दैनिक ४० हजार लाइसेन्स छाप्ने क्षमता रहेको दाबी गरेको छ। केन्द्रका कार्यकारी निर्देशकका अनुसार सोही गतिमा काम अघि बढेमा मासिक करिब १२ लाख र दुई महिनामा २४ लाख लाइसेन्स छाप्न सकिनेछ। बिदाको दिनसमेत निरन्तर काम गरिने भएकाले असार मसान्तसम्म लक्ष्य पूरा गर्न सकिने विश्वास केन्द्रले व्यक्त गरेको छ। पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता भइसकेको र त्यसलाई निर्धारित समयभित्र सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ। बाँकी लाइसेन्स छपाइका लागि थप सम्झौता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ।

यद्यपि, विगतमा देखिएका समस्या अझै पूर्ण रूपमा समाधान भइसकेका छैनन्। ‘जेन–जी आन्दोलन’का क्रममा विभागको सर्भर जलेपछि डेटा व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो, जसको असर अझै देखिएको छ। साथै, पहिले विभागमै रहेको लाइसेन्स छपाइ मेसिन आगलागीमा नष्ट भएपछि हाल छपाइ कार्य पूर्ण रूपमा सुरक्षण मुद्रण केन्द्रमा निर्भर छ। विभागले दीर्घकालीन समाधानका रूपमा प्रत्येक प्रदेश वा यातायात कार्यालयमै छपाइ मेसिन उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। यसले भविष्यमा यस्तो समस्या दोहोरिन नदिने विश्वास गरिएको छ, तर हालसम्म उक्त योजना कार्यान्वयनमा आउन सकेको छैन।

देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमार्फत लाइसेन्स वितरण सेवा उपलब्ध गराइँदै आएको छ। अहिले विभागले डेटा उपलब्ध गराउने, मुद्रण केन्द्रले छपाइ गर्ने र पुनः विभागमार्फत हुलाक सेवाबाट कार्यालयमा पठाउने प्रणाली कार्यान्वयनमा छ। सरकारले घोषणा गरेअनुसार असार मसान्तसम्म सबै लाइसेन्स छापिसक्ने र साउनदेखि कुनै पनि सेवाग्राहीले चिर्कटो बोकेर हिँड्न नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य राखिएको छ।

1

Scroll to Top