नेपाल वायुसेवा निगमको नेतृत्वले उड्डयन क्षेत्रका स्थापित मापदण्ड र संस्थागत सुशासनको धज्जी उडाउँदै गम्भीर अनियमितता गरेको तथ्य बाहिर आएको छ। विशेषगरी, अनिवार्य अवकाशको उमेर हद (५८ वर्ष) नाघिसकेका फर्स्ट अफिसर रोशन कोइरालालाई नियमविपरीत एयरबस ए–३२० को महँगो तालिमका लागि छनोट गरिएपछि निगमभित्र खैलाबैला मच्चिएको छ। यो विवादास्पद निर्णय वर्तमान अपरेशन डाइरेक्टर क्याप्टेन सुवास रिजाल र कोइरालाबीचको ‘सम्धी’ नाताका कारण पारिवारिक स्वार्थपूर्तिका लागि गरिएको दाबी स्रोतले गरेको छ।
एउटै समयमा अफ्रिकामा समेत काम गरिरहेका कोइरालालाई राज्यको ढुकुटी खर्चेर तालिम दिनुले निगमको स्रोतको चरम दुरुपयोग र व्यावसायिक नैतिकताको ठाडो उल्लंघन भएको देखिन्छ। परीक्षा र छनोट प्रक्रियालाई समेत निश्चित व्यक्तिको अनुकूल हुने गरी तोडमोड गरिएको पाइएको छ। सामान्यतया कम्प्युटरबाट हुने परीक्षालाई कोइरालाकै लागि कागजमा आधारित बनाइएको र सम्बन्धित विषयको विज्ञ नभएका व्यक्तिलाई प्रश्नपत्र काट्न लगाई शतप्रतिशत अङ्क दिएर नतिजा गोप्य राखिएको आरोप छ।
नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र निगमको आफ्नै नियमावली (OM-A) अनुसार अनिवार्य हुनुपर्ने उडान घण्टा र योग्यतालाई समेत बेवास्ता गरिएको छ। यसका अतिरिक्त, मलेसियाको सीएईसँगको सम्झौता सकिए पनि र आन्तरिक उपसमितिले अवरोध गर्दागर्दै पनि प्रक्रिया मिचेर तालिमलाई अगाडि बढाइएको छ, जुन पदको शक्तिको दुरुपयोगको पराकाष्ठा मानिएको छ।
निगमको यस्तो पक्षपातपूर्ण व्यवहारले वर्षौँदेखि अवसरको पर्खाइमा रहेका योग्य र युवा पाइलटहरूको भविष्यमाथि खेलबाड गरेको छ। एकातिर आफ्नै खर्चमा तालिम गर्न चाहने वरिष्ठ क्याप्टेन र टाइप–रेटिङका लागि योग्य १६ जनाभन्दा बढी सक्रिय पाइलटहरूलाई पाखा लगाइएको छ भने अर्कोतिर अवकाशको मुखमा पुगेका व्यक्तिलाई अवसर दिएर संस्थालाई आर्थिक भार थपिएको छ।
यस प्रकरणले निगमभित्रका कर्मचारीहरूको मनोबल गिराउनुका साथै अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा र विश्वसनीयतामा समेत गम्भीर धक्का पुर्याएको विज्ञहरूको ठहर छ। सरोकारवालाहरूले यस नातावाद र भ्रष्टाचारजन्य कार्यमाथि तत्काल स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।


