गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेकपा एमालेका नेता खगराज अधिकारीबीचको सहमतिपछि बुधबार नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
नयाँ कार्यविभाजन अनुसार नेपाली कांग्रेसबाट जित शेरचनले आर्थिक मामिला, नन्दप्रसाद न्यौपानेले ऊर्जा तथा खानेपानी, रेखा गुरुङले सामाजिक विकास र नम्दु गुरुङले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, नेकपा एमालेबाट गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार विकास, यशोदा रिमालले उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डेले कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्कीले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेका छन्। कांग्रेस र एमाले सम्मिलित यो सरकारले मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ गति लिने विश्वास गरिएको छ।


