Banijya News

ब्याजदर घट्दा लघुवित्तको नाफामा सुधार : खराब कर्जाको चुनौती कायमै

1
1.1K Shares

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार वित्तीय प्रणालीमा ब्याजदरमा आएको गिरावटले लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा २१.३२ प्रतिशतको बढोत्तरी देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यी संस्थाहरूले ५ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। यद्यपि, यो नाफा वृद्धि कर्जा असुलीमा सुधार आएर नभई बैंक तथा वित्तीय संस्थाहरूबाट लिइने सापटीको ब्याज खर्च घट्दा सम्भव भएको हो।

२०८२ असार मसान्तसम्म आइपुग्दा लघुवित्तहरूको कोषको लागत ७.१४ प्रतिशतमा झरेको छ भने उनीहरूले कर्जामा लिने औसत ब्याजदर १४.३३ प्रतिशत कायम छ। यसरी ब्याजदर अन्तर (स्प्रेड दर) ७.१९ प्रतिशत पुग्दा सञ्चालन आम्दानीमा टेवा पुगेको देखिए पनि ग्रामीण क्षेत्रमा प्रवाह भएको कर्जा असुलीको अवस्था भने झनै चिन्ताजनक बनेको छ।

तथ्याङ्क अनुसार लघुवित्त क्षेत्रमा कर्जाको गुणस्तर खस्किँदा निष्क्रिय कर्जा अनुपात ९.९५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ६.३१ प्रतिशत मात्र थियो। एक वर्षकै अवधिमा निष्क्रिय कर्जा ७० प्रतिशतभन्दा बढीले वृद्धि भई ४८ अर्ब ९५ करोड रुपैयाँ पुग्नुले यो क्षेत्रमा गम्भीर जोखिम सङ्केत गरेको छ । असुलीमा देखिएको अवरोधका कारण संस्थाहरूले ३२ अर्ब ४१ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का लागि छुट्याउनु परेको छ। चुनौतीपूर्ण अवस्थाका बाबजुद लघुवित्तहरूको चुक्ता पुँजी ७.२४ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड पुगेको छ भने कुल सम्पत्तिको आकार ५ खर्ब ३५ अर्ब नाघेको छ।

तर, जोखिम भारित सम्पत्ति बढ्दै जाँदा र पुँजीकोष अनुपात ११.५३ प्रतिशतमा खुम्चिँदा आगामी दिनमा कर्जा असुली र वित्तीय अनुशासन कायम गर्नु नै यो क्षेत्रको मुख्य चुनौती हुने देखिन्छ।

1

Scroll to Top