आँखा स्वास्थ्यको क्षेत्रमा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) बीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। काठमाडौमा आयोजित एक कार्यक्रममा तिलगंगाका कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले शिक्षा, अनुसन्धान र उपचार सेवामा सहकार्य गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरे । यस समझदारीले विशेषगरी चिकित्सा शिक्षाको गुणस्तर सुधार र जटिल आँखा रोगको उपचारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार तिलगंगाका अनुभवी प्राध्यापकहरूले धरान पुगेर नियमित ओपिडी सेवा, उप-विशेषज्ञता शल्यक्रिया र लेजर उपचार सेवा प्रदान गर्नेछन्। साथै, बीपीका चिकित्सक तथा विद्यार्थीहरूका लागि तिलगंगाले उच्चस्तरीय तालिम र ‘क्लिनिकल पोस्टिङ’ को व्यवस्था गर्नेछ। दुवै संस्थाले क्लिनिकल र सामुदायिक आँखा स्वास्थ्यका विभिन्न विषयमा संयुक्त अनुसन्धान परियोजनाहरू समेत सञ्चालन गर्ने सहमति गरेका छन्।
यो सहकार्यले पूर्वी नेपालका अन्य आँखा अस्पतालहरूलाई समेत जोड्ने लक्ष्य राखेको छ। सम्झौताअनुसार देशका विभिन्न दुर्गम स्थानहरूमा संयुक्त रूपमा आँखा जाँच तथा शल्यक्रिया शिविरहरू आयोजना गरिनेछ। यसबाट एकातिर चिकित्सकहरूको व्यावसायिक दक्षता वृद्धि हुनेछ भने अर्कोतर्फ सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।


