Banijya News

माछापुच्छ्रे बैंकमा अब ‘नेपालपे’ कार्डको सुविधा

1
1.1K Shares

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्ने सम्बन्धमा एक महत्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतामा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन । एनसीएचएलको ईएफटी स्वीच नेशनल कार्ड स्वीचसँग एकीकृत भइसकेकाले अब माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्न सक्नेछ।

यस सहकार्य पश्चात् बैंकले पहिलो चरणमा आफ्ना १९९ भन्दा बढी एटीएम र ३,००० भन्दा बढी पीओएस टर्मिनलहरू मार्फत नेपालपे कार्ड स्वीकार गर्ने व्यवस्था मिलाउनेछ। साथै, डिस्कभर नेटवर्कसँगको आबद्धताका कारण बैंकले अन्तर्राष्ट्रिय कार्डहरू र भारतीय ‘रुपे’ कार्डहरू समेत अक्वायर गरी कारोबार प्रक्रिया अगाडि बढाउन सक्नेछ। यो सुविधाले गर्दा नेपालपे कार्ड प्रयोगकर्ताहरूले स्वदेशमा मात्र नभई डिस्कभर नेटवर्कमार्फत विश्वव्यापी रूपमा समेत आफ्नो कार्ड प्रयोग गर्न पाउनेछन्।

नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेपालपे कार्डलाई हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले आत्मसाथ गरिसकेका छन्। हाल दुईवटा वाणिज्य बैंकहरूले कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने तीनवटा बैंकहरूले अक्वायरिङ्ग सेवा प्रदान गरिरहेका छन्। एनसीएचएलको ईएफटी सेवामार्फत यसअघि नै १० वटा संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रोसेस गर्दै आएकोमा, अब नेपालपे कार्डको पनि सहज कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top