Banijya News

देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

1
1.1K Shares

नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक र गौरवपूर्ण दिनका रूपमा रहेको ‘लोकतन्त्र दिवस’ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ सालको जनआन्दोलनमार्फत प्राप्त भएको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने उद्देश्यका साथ हरेक वर्ष वैशाख ११ गतेलाई उत्सवका रूपमा मनाउने गरिन्छ।

विसं २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएपछि मुलुकमा राजनीतिक गतिरोध उत्पन्न भएको थियो। २०६३ वैशाख ११ गते राति राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गर्दै विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरे। सोही दिनको सम्झनामा २०६४ सालदेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको हो।

वैशाख ११ को सोही घोषणापछि नै नेपालमा शान्ति प्रक्रियाको ढोका खुलेको थियो। पुनस्र्थापित संसद्को पहिलो बैठकले राजसंस्थाको अधिकार कटौती गर्दै ऐतिहासिक घोषणा जारी गर्‍यो। त्यसैको जगमा २०६४ सालमा संविधानसभाको निर्वाचन भयो र २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो शाहवंशीय राजसंस्थाको विधिवत् अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। यस अर्थमा वैशाख ११ लाई गणतन्त्र स्थापनाको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा लिइन्छ।

लोकतन्त्र स्थापनाको दुई दशक पुग्न लाग्दा पनि आम जनताका अपेक्षाहरू पूर्ण रूपमा सम्बोधन हुन नसकेको गुनासो सुनिने गरेको छ। राजनीतिक दलहरूले नागरिकको जीवनस्तरमा सुधार ल्याउन र सुशासन कायम गर्न अझै मेहेनत गर्नुपर्ने देखिन्छ। आजको दिनले ती शहीदहरूको बलिदानलाई स्मरण गराउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्ने संकल्प गर्न पनि प्रेरित गरेको छ।

देशभरका सरकारी कार्यालय, राजनीतिक दलका भ्रातृ संगठन र नागरिक समाजले आज विभिन्न गोष्ठी, प्रभातफेरी र दीप प्रज्वलन गरी यो दिवस मनाइरहेका छन्। सरकारले आजको दिनलाई जनभावनाको कदर भएको दिनका रूपमा सम्मान व्यक्त गर्दै आएको छ।

1

Scroll to Top