नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम मारुती सिमेन्ट लिमिटेडले पछिल्लो समय आफ्नो व्यावसायिक यात्रामा उल्लेख्य प्रगति हासिल गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७० करोड ७० लाख रुपैयाँको तुलनामा झन्डै १ अर्ब २० करोड रुपैयाँको वृद्धि हो।
आम्दानीसँगै कम्पनीको नाफाको दरमा पनि लोभलाग्दो सुधार देखिएको छ। आर्थिक वर्ष २०८० मा ७ प्रतिशत रहेको सञ्चालन नाफाको दर २०८२ मा आइपुग्दा १९ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्याङ्कले यो दर ३० प्रतिशतसम्म पुग्न सक्ने बलियो सम्भावना देखाएको छ, जसले कम्पनीको बढ्दो व्यावसायिक दक्षतालाई स्पष्ट पार्छ। सिराहाको गोलबजारमा अवस्थित यस उद्योगले सन् २०२५ जुनमा आफ्नो उत्पादन क्षमतामा व्यापक विस्तार गरेको छ।
सन् २००८ मा दैनिक ५०० टन सिमेन्ट उत्पादनबाट सुरु भएको यो कम्पनीले अहिले दैनिक ३,३०० टन क्लिंकर र ४,००० टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ। क्षमता विस्तारसँगै कम्पनीको वित्तीय अवस्था र ऋण भुक्तानी गर्ने क्षमतामा पनि ठूलो सुधार आएको छ। सन् २०२४ मा ४.८४ गुणा रहेको ऋणको ब्याज भुक्तानी क्षमता सन् २०२५ मा बढेर ९.२२ गुणा पुग्नुले कम्पनीको वित्तीय मजबुतीलाई प्रमाणित गर्दछ। राठी र गोयल समूहद्वारा प्रवर्द्धित यो उद्योगले आफ्नै चुनढुङ्गा खानी र आधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
आगामी योजनाका सन्दर्भमा मारुती सिमेन्टले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। हाल कम्पनीको ऋण र पुँजीको अनुपात ०.६४ गुणा रहेको छ, जुन निकै स्वस्थ मानिन्छ। आईपीओबाट संकलित रकम ऋण भुक्तानीमा प्रयोग गर्ने कम्पनीको रणनीतिले भविष्यमा वित्तीय भार अझ कम हुने अपेक्षा गरिएको छ। यद्यपि, व्यावसायिक सफलताका बीच कम्पनीले केही चुनौती पनि झेलिरहेको छ। विशेषगरी ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो विद्युत् महसुल विवाद अझै समाधान हुन बाँकी छ। यदि यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा त्यसले कम्पनीको खुद नाफामा केही दबाब सृजना गर्न सक्ने विश्लेषण गरिएको छ।


