गत वर्ष २०८२ को भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रेजेन्सीको व्यवसायमा गम्भीर असर परेको छ । आन्दोलनका क्रममा होटल परिसरमा भएको आगलागी, तोडफोड र लुटपाटका कारण भौतिक क्षति भएपछि पुनर्स्थापना र मर्मतका लागि होटलको सेवा पूर्ण रूपमा बन्द गरिएको हो ।
यसरी व्यवसाय ठप्प हुँदा तारागाउँ रेजेन्सी होटल्सद्वारा सञ्चालित हायातको आम्दानीमा व्यापक गिरावट आएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख रुपैयाँको उत्कृष्ट कारोबार गरेको होटलले चालु आर्थिक वर्षको ६ महिनामा मात्र १७ करोड २० लाख रुपैयाँको व्यापार गर्न सकेको छ । यसअघि सन् २०२४ मा १ अर्ब ४९ करोड ५० लाख र सन् २०२३ मा १ अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गर्दै होटल बलियो लयमा रहेको थियो । आन्दोलन अघिसम्म व्यवसाय सन्तोषजनक रहेको र गत आवमा ५९।२० प्रतिशत अकुपेन्सीसहित प्रति कोठाको औसत मूल्य १२ हजार ३ सय २५ रुपैयाँ रहेकोमा आन्दोलनपछि सन् २०२५ को सेप्टेम्बरदेखि होटल औपचारिक रूपमै एक वर्षका लागि बन्द गर्नु परेको कम्पनीले जनाएको छ ।
व्यवसायमा धक्का लागे पनि कम्पनीको आन्तरिक वित्तीय अवस्था र तरलता स्थिति भने सुरक्षित देखिएको छ । दिगो नाफा र सञ्चित कोषको वृद्धिका कारण कम्पनीको ट्यान्जिबल खुद सम्पत्ति सन् २०२२ को २ अर्ब ३२ करोडबाट बढेर हाल ३ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुगेको छ भने गत आवको अन्त्यसम्ममा ३१ करोड ५० लाख नगद मौज्दात र २ अर्ब ७० लाख रुपैयाँ मुद्दती निक्षेपमा रहेकाले कम्पनीलाई वित्तीय संकट परेको छैन ।
यही बलियो जगका आधारमा कम्पनीले आन्दोलनबाट प्रभावित होटलको पुनर्स्थापना र स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँ लगानी गर्ने ठूलो योजना अघि सारेको छ । यस लगानीका लागि २ अर्ब रुपैयाँ बैंक ऋण लिइनेछ भने बाँकी १ अर्ब रुपैयाँ कम्पनीले आफ्नो मुद्दती निक्षेपबाट परिचालन गर्नेछ । हाल भौतिक सुधारका लागि बन्द रहेको होटललाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने र सन् २०२७ सम्ममा होटल पुनः सञ्चालनमा आउने तयारी भइरहेको छ ।
नयाँ स्वरूपमा आउँदा होटलको कोठा संख्या २ सय ८० बाट बढाएर २ सय ९१ पुर्याइनेछ भने सन् २०२८ सम्ममा अतिरिक्त १३ वटा सुविधासम्पन्न भिल्लाहरू समेत सञ्चालनमा ल्याइनेछ । सन् १९९० मा स्थापना भएको र अरुणकुमार सराफ अध्यक्ष रहेको यस सराफ र श्रेष्ठ ग्रुपको लगानीको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ समेत गराइसकेको छ ।


