Banijya News

सहमति नजुट्दा सूचना टाँसेर सारियो प्रतिनिधि सभा बैठक

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र साहको नेपाल–भारत सीमासम्बन्धी कूटनीतिक अभिव्यक्तिका कारण प्रतिनिधि सभामा जारी गतिरोध अझै अन्त्य हुन सकेको छैन। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति नजुट्दा सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको छ। प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवारपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरूले संसद्को रेकर्डबाट सो अभिव्यक्ति हटाउनुपर्ने र प्रधानमन्त्री स्वयंले संसद्‍मा उपस्थित भई माफी माग्नुपर्ने अडान राख्दै आएका छन्।

संसद् सुचारु गराउन सत्तापक्ष र प्रतिपक्षबीच लगातार छलफल भइरहे पनि ठोस सहमति बन्न सकेको छैन। सोमबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकसमेत निष्कर्षविहीन टुङ्गिएको थियो। सत्तारुढ दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ परराष्ट्रमन्त्रीले दिने विकल्प सारे पनि विपक्षी दलहरूले त्यसलाई ठाडै अस्वीकार गर्दै प्रधानमन्त्री नै रोस्ट्रममा आउनुपर्ने निष्कर्ष दोहोर्‍याएका छन्।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सांसदका प्रश्नहरूको जवाफ दिने मुख्य कार्यसूची रहेको छ। यसबाहेक वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ सम्बन्धी जानकारी गराउने लगायतका कार्यसूची तय गरिए पनि राजनीतिक खिचातानीका कारण आजको बैठक सहज रूपमा अगाडि बढ्नेमा आशङ्का कायमै छ।

1

Scroll to Top