Banijya News

इप्पानको वरिष्ठ उपाध्यक्षमा बलराम खतिवडाको प्यानल घोषणा

1
1.0K Shares

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आठौं अधिवेशन एवं २४ औं वार्षिक साधारणसभाको मिति नजिकिएसँगै नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी निकै बढेको छ। यसै क्रममा संस्थाका वर्तमान महासचिव बलराम खतिवडाले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

इप्पानको विधानमा वरिष्ठ उपाध्यक्ष नै आगामी महाधिवेशनमा स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले यस पदको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ। खतिवडाको प्यानलबाट उपाध्यक्षहरूमा भरत नेपाल, भरतबहादुर खत्री, कुमार खरेल र दीपक पौडेल मैदानमा उत्रिएका छन् भने महिला उपाध्यक्षमा सिर्जना खड्का र महासचिवमा प्रकाश दुलालले उम्मेदवारी दिएका छन्।

उर्जा उद्यमीहरूको छाता संगठन इप्पानको यो अधिवेशनले आगामी नीति तथा जलविद्युत क्षेत्रका समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीति तय गर्ने विश्वास लिइएको छ। खतिवडाको प्यानलबाट सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र इशा श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै, सदस्यहरूमा सोमनाथ कँडेल, भुषण गुरागाईं, सन्तोषराज नेपालसहित १० जनाको टोली रहेको छ। यसअघि नै उर्जा व्यवसायी उत्तम भ्लोन लामाले पनि वरिष्ठ उपाध्यक्षमा बलियो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेकाले यसपटकको इप्पान नेतृत्व चयनका लागि दुई प्यानलबीच कडा र रोचक प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।

1

Scroll to Top