अन्तर्राष्ट्रिय तनावलाई देखाउँदै नेपाल आयल निगमले हतारमा ल्याएको ुआधा सिलिन्डरु ग्यास वितरण नीति तीन महिना बितिसक्दा उपभोक्ता र व्यवसायी दुवैका लागि प्रत्युत्पादक बनेको छ।
सुरुमा १५ दिनका लागि भनिएको यो नियम लम्बिएपछि अहिले काठमाडौं उपत्यका बाहिरका पहाडी तथा तराईका जिल्लाहरूमा खाना पकाउने एलपी ग्यासको हाहाकार मच्चिएको छ। माग र आपूर्ति सन्तुलन मिलाउन ल्याइएको ७.१ किलोको यो प्रावधानले बजार सहज बनाउनुको साटो ढुवानी लागत दोब्बर पारिदिएपछि उद्योगीहरूले टाढाका जिल्लामा ग्यास पठाउन छाडेका छन्, जसका कारण सुदूर गाउँदेखि सुगम बजारसम्म उपभोक्ताहरू घण्टौँ लाइन बस्न बाध्य छन् ।
भौगोलिक विकटता र ढुवानी भाडाको गणित नमिल्दा विशेषगरी पहाडी क्षेत्र यसको ठूलो मारमा परेका छन्। भैरहवा वा वीरगञ्ज जस्ता औद्योगिक केन्द्रबाट आधा सिलिन्डर बोक्दा पनि ट्रकको भाडा पूरै तिर्नुपर्ने बाध्यताले उद्योगीहरूको नाफा र डिलरहरूको कमिसन ५० प्रतिशतसम्म कटौती भएको छ। परिणामस्वरुप, व्यवसायीहरूले स्थानीय क्षेत्रमै ग्यास खपत गराउन खोज्दा दुर्गममा कृत्रिम जस्तै देखिने ुप्राविधिक अभावु चुलिएको हो। अझ पहाडी जिल्ला गुल्मीमा त कम ग्यास हुँदा सिलिन्डरभित्र पर्याप्त ुप्रेसरु समेत नहुने र साढे एक किलोसम्म इन्धन प्रयोगमै नआउने प्राविधिक त्रुटी देखिएपछि होटल तथा घरायसी उपभोक्ता कोइला भट्टीतिर फर्कन थालेका छन्।
यता, सीमावर्ती तराई क्षेत्रको कथा भने झन् फरक छ। भारतमा अनुदानको ग्यासमा कडाइ र मूल्य वृद्धि भएसँगै खुला सिमानाको फाइदा उठाउँदै नेपालको आधा सिलिन्डर ग्यास पारि तस्करी भइरहेको दाबी उद्योगीहरूको छ। माग अस्वभाविक रूपमा बढेको तराईका डिलरहरूको तथ्याङ्कले पनि यसलाई बल दिन्छ। अर्कोतर्फ, आयल निगमले बजारमा ग्यासको खपत घटेर ३५ हजार टनमा झरेको भन्दै आपूर्तिमा कुनै कटौती नगरेको दाबी गरिरहँदा बिक्रेता महासंघले भने त्यसलाई भ्रम मात्र भनेको छ।
महासंघका अनुसार उपभोक्ताले आधा सिलिन्डर झन्झटिलो मानेर पूरै सिलिन्डर आउने आशमा खाली सिलिन्डर घरमै ुहोल्डु गरेका कारण खपत कम देखिएको हो। नीतिगत हठ र व्यावहारिक धरातलबीचको यही अन्तरले गर्दा सर्वसाधारण उपभोक्ता भने महँगो मूल्य तिरेर पनि रित्तो सिलिन्डर छाम्न बाध्य छन्।


