नेपाली अटोमोबाइल क्षेत्रको नेतृत्वदायी व्यावसायिक घराना ुगोल्छा ग्रुपु का दुई प्रमुख कम्पनीको कारोबारमा उल्लेख्य सुधार देखिएको छ। व्यवसायी शेखर गोल्छाको मुख्य स्वामित्व रहेका हंशराज हुलासचन एन्ड कम्पनी र हुलास अटो क्राफ्टले चालु आर्थिक वर्षको ९ महिनामै गत वर्षको कुल आम्दानीलाई समेत उछिनेका छन्।
गत आर्थिक वर्षमा कुल २४ अर्ब ७९ करोड ५० लाख रुपैयाँको व्यापार गरेका यी दुई कम्पनीले यस वर्षको ९ महिनामै ४.५७ प्रतिशतको वृद्धि दर्ता गर्दै २५ अर्ब ९८ करोड ५० लाख रुपैयाँ संकलन गरिसकेका छन् ।
ग्रुपको मुख्य मेरुदण्ड मानिएको हंशराज हुलासचन्द एन्ड कम्पनीले ९ महिनाको अवधिमा १६ अर्ब ४६ करोड रुपैयाँको व्यवसाय गरेको छ, जुन गत वर्षको कुल व्यापार १५ अर्ब ६६ करोड ७० लाख भन्दा बढी हो। नेपालका लागि बजाज, केटीएम, ट्रिउम्प र सर्भो लुब्रिकान्टको आधिकारिक बिक्रेता रहेको यस कम्पनीले देशभरका ३ सय बिक्री शाखामार्फत बलियो बजार ओगटेको छ।
ब्याजदरमा आएको गिरावटले कम्पनीको ऋण तिर्ने क्षमता (ब्याजल कभरेज अनुपात ४ गुणा) मा सुधार ल्याए पनि तीव्र प्रतिस्पर्धाका कारण सञ्चालन नाफा मार्जिन भने ५.७ प्रतिशतबाट घटेर ४.२ प्रतिशतमा खुम्चिएको छ। शेखर गोल्छाको ५३.८ प्रतिशत सेयर रहेको यस कम्पनीले वित्तीय व्यवस्थापनका लागि ६ अर्ब २१ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ।
त्यस्तै, बजाजका सवारी साधन स्वदेशमै एसेम्बल गर्ने सहायक कम्पनी हुलास अटो क्राफ्टको वित्तीय ग्राफ पनि उत्साहजनक छ। नवलपरासीमा प्लान्ट रहेको यस कम्पनीले ९ महिनामा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ, जसमा ‘पल्सर’ ब्रान्डको योगदान मुख्य छ। गत वर्ष ९ अर्ब १२ करोड ८० लाखको व्यापार गरेको कम्पनीले यसपालि नाफा मार्जिन (६.९ प्रतिशत) र ऋण सेवा कभरेज अनुपात (३.३ गुणा) दुवैमा सुधार गरेको छ। आगामी दिनमा ‘चेतक’ विद्युतीय स्कुटरसमेत एसेम्बल गर्ने योजना बनाएको यस कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत हिस्सेदारी छ। कम्पनीले ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएर व्यवसाय विस्तार गरिरहेको छ।


