नेपाल राष्ट्र बैंकले अधिक तरलता भएपछि बजारबाट ४५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार २८ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा मंगलबार दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत सहभागी हुन सक्नेछन् । निक्षेप संकलन बोलकबोल निष्कासन आजै गरिने र सावाँ तथा ब्याज भुक्तानी आगामी असार ३१ गते भुक्तानी हुने केन्द्रिय बैंकले जनाएको छ ।
बोलकबोलमा वाणिण्ज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीहरु मात्र सहभागी हुन पाउनेछन् । इच्छुक संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरेको रकमसम्म बाँडफाँड गरिने केन्द्रिय बैंकले जनाएको छ । समान ब्याजदर भएका बोलकबोल रकमहरू समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड हुने केन्द्रिय बैंकले जनाएको छ ।
निक्षेप संकलन बोलकबोलमा लगानी गरिएको रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप संकलन बोलकबोलमा गरेको लगानीलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ । यसको भुक्तानी अवधि अगावै ‘प्रि–म्याच्योर’ भुक्तानी हुनेछैन ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले नियमित रुपमा तरलता प्रशोचन गर्दै आएको छ । २०८३ असार २ गतेसम्म अधिक तरलता भएपछि बैंकहरुले राष्ट्र बैंकमा पार्क गरेको रकम १० खर्ब ७९ अर्ब ५५ करोड रुपैयाँ पुगिसकेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलका साथै हरेक दिन स्थायि निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरकको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरमा दैनिक स्थायि निक्षेप सुविधा उपलब्ध गराउँदै आएको छ ।


