विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। राहदानी छपाइको ठेक्कापट्टा प्रक्रियामा पूर्वमन्त्री राणाको भूमिका शंकास्पद देखिएको दाबीसहित उजुरी परेपछि अख्तियारले उनलाई प्रारम्भिक अनुसन्धानको दायरामा ल्याएको हो। यसै सिलसिलामा अख्तियारको टोलीले गत मंगलबार बूढानीलकण्ठस्थित उनको निवासमा पुगेर बयानका लागि उपस्थित हुन म्याद तामेल गरेको छ ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएपछि डा. राणाको बूढानीलकण्ठस्थित निवास हाल खण्डहर अवस्थामा छ र त्यसलाई भत्काउन थालिएको छ। डा. राणा र उनका पति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुवै हाल उपचारका लागि विदेशमा रहेको र सम्पर्कमा नभएकाले अख्तियारको टोलीले स्थानीय वडाका प्रतिनिधिहरूको रोहबरमा सोही घरको भित्तामा म्याद टाँसेर फर्किएको हो।
आन्दोलनपछि स्वदेशमा रहँदा पनि देउवा दम्पती बूढानीलकण्ठ निवासमा नबसी महाराजगञ्जमा भाडाको घरमा बस्दै आएका थिए। यही प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई यसअघि नै नियन्त्रणमा लिई विशेष अदालतबाट थुना अनुमति लिएर हिरासतमा अनुसन्धान गरिरहेको छ।


