भक्तपुरको रैथाने सांस्कृतिक पहिचान र स्वादसँग जोडिएको ‘जुजु धौः’ (दहीको राजा) को ट्रेडमार्क अनधिकृत रूपमा प्रयोग गर्ने सातवटा ठूला डेरी उद्योगमाथि उद्योग विभागले रोक लगाएको छ। भक्तपुर जुजु धौः व्यवसायी संघको उजुरी र विभागको अनुगमनपछि कलेक्टिभ ट्रेडमार्कको दुरुपयोग रोक्न ६ जिल्लाका प्रशासन कार्यालयहरूलाई समेत कडा निर्देशन जारी गरिएको छ।
परम्परागत रूपमा भैँसीको बाक्लो दूधलाई माटोको भाँडो र धानको भुसको तापमा जमाएर बनाइने जुजु धौः आफ्नो स्वाद र क्रिमका लागि प्रख्यात छ। तर, काठमाडौँ, ललितपुर र पोखराका केही डेरी उद्योगहरूले ‘जुजु धौः’ को नाम र ब्रान्ड हुबहु कपी गरेर बजारमा कम मूल्यमा नक्कली दही बेचिरहेका थिए। भक्तपुरको वास्तविक जुजु धौःको बजार मूल्य प्रतिलिटर २५० रुपैयाँ रहँदा अन्य डेरीहरूले १८० रुपैयाँमै कम गुणस्तरको दही बेचेर उपभोक्ता र रैथाने उत्पादक दुवैलाई ठगिरहेको पाइएको थियो।
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले असार १० गते एक आदेश जारी गर्दै दर्ता भइसकेको कलेक्टिभ ट्रेडमार्क विपक्षी डेरीहरूले प्रयोग गर्न नपाउने स्पष्ट पारेका हुन । विभागको यो निर्णय पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ विपरीत रहेको ठहर गर्दै अधिवक्ता राजकुमार सुवालले यसरी झुक्याएर ब्रान्ड कपी गर्दा उपभोक्ता ठगिने, मौलिक स्वाद हराउने र वास्तविक उत्पादकलाई ठूलो आर्थिक नोक्सानी हुने बताए। अब ती डेरीहरूले आफ्नै ब्रान्डमा मात्र दही बेच्नुपर्नेछ, अन्यथा थप कानुनी कारबाही अघि बढाइने संघले चेतावनी दिएको छ।


