काठमाडौंस्थित सोना प्याकेजिङ इन्डष्ट्रिजले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँको बलियो कारोबार गरेको छ । सन् २००७ मा स्थापना भएको र मासिक ९ सय मेट्रिक टन फ्लेक्जिबल र्यापर तथा प्याकेजिङ सामग्री उत्पादन गर्ने क्षमता भएको यस कम्पनीले विगतका वर्षहरूमा पनि राम्रो व्यापार गरेको थियो, जसअन्तर्गत गत आवमा २ अर्ब ७ करोड २० लाख, सन् २०२४ मा १ अर्ब ७३ करोड र सन् २०२३ मा १ अर्ब ७४ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।
अध्यक्ष चुन्नाप्रसाद शर्माको नेतृत्वमा रहेको यस कम्पनीले आफ्नो क्षमता विस्तार र उत्पादनमा विविधिकरण गरेसँगै गत आवमा व्यापार २० प्रतिशतले बढेको हो । विशेषगरी कम्पनीले सुरु गरेको ‘इएक्सटी लेमिनेट रोल’ को उच्च मागका कारण व्यापार सकारात्मक बनेको हो, जसको हिस्सा गत आवमा ३१ प्रतिशत र चालू आवको ९ महिनामा ४० प्रतिशत पुगेको छ ।
व्यापार विस्तारसँगै कम्पनीको नाफा र वित्तीय सूचकहरूमा पनि राम्रो सुधार देखिएको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ९.७५ प्रतिशत रहेकोमा चालू आवको ९ महिनामा बढेर १०.४६ प्रतिशत पुगेको छ भने सन् २०२२ मा ८ करोड ७० लाख रुपैयाँ रहेको कुल नगद सञ्चय गत आवमा १४ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको ट्यान्जिबल नेटवर्थ सन् २०२४ मा ४२ करोड ६० लाख रुपैयाँ रहेकोमा गत आवमा बढेर ५० करोड ७० लाख रुपैयाँ पुगेको थियो, जुन चालू आवमा १० करोड रुपैयाँ लाभांश वितरण गरिएका कारण केही घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ ।
कम्पनीले आफ्नो क्षमता वृद्धि र चालू पुँजीको आवश्यकता पूरा गर्न ऋण बढाएका कारण कुल गियरिङ अनुपात सन् २०२४ को ०।७३ गुणाबाट बढेर गत आवमा ०.८३ र चालू आवमा १।१४ गुणा पुगेको छ, जुन अझै पनि मध्यम स्तरमै रहेको छ । ऋण बढे तापनि कम्पनीको ब्याज भुक्तानी क्षमता भने गत आवको ६.४२ गुणाबाट थप सुधार भई चालू आवको ९ महिनामा ८.९८ गुणा पुगेको छ, जसले वित्तीय अवस्था सहज रहेको देखाउँछ । हाल कम्पनीले आफ्नो दीर्घकालीन कर्जाका लागि ८ करोड ६३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँ गरी कुल ९८ करोड ६३ लाख रुपैयाँको रेटिङ गराएको छ ।


