Banijya News

खुमाप्रसाद अर्यालका दुई मेडिकल कम्पनीले गरे पौने २ अर्बको व्यापार

1
1.0K Shares

व्यवसायी खुमाप्रसाद अर्यालको नेतृत्वमा रहेका दुई मेडिकल संस्थाहरूले चालु आर्थिक वर्षको ९ महिनामा पौने २ अर्बको लोभलाग्दो व्यापार गरेका छन्। लर्ड बुद्ध एजुकेशनल एकेडेमी र सन्जिवनी कलेज अफ मेडिकल साइन्सले यस अवधिमा संयुक्त रूपमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यावसायिक कारोबार गरेका हुन्।

कुल आम्दानीमध्ये लर्ड बुद्ध एकेडेमीले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ र सन्जिवनी कलेजले ६९ करोड ८० लाख रुपैयाँ योगदान पुर्‍याएका छन्। सन् १९९६ मा स्थापित लर्ड बुद्ध एजुकेशनल एकेडेमीले कोहलपुरमा ५ सय शय्याको शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालन गरिरहेको छ।

यस संस्थाको व्यापारिक ग्राफ लगातार बढ्दो क्रममा छ, जसले गत आर्थिक वर्षमा २ अर्ब १ करोड २० लाख, सन् २०२४ मा १ अर्ब ८१ करोड ६० लाख र सन् २०२३ मा १ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। हाल अस्पतालको बेड अकुपेन्सी ५० देखि ५५ प्रतिशत रहेको छ भने कुल आम्दानीमा अस्पतालको हिस्सा ३५ प्रतिशत र कलेजको ३४ प्रतिशत छ। बाँकी आम्दानी फार्मेसी र अन्य सेवाबाट हुने गरेको छ। बैंकको ब्याजदर घट्नु र सञ्चालन नाफा बढ्नुले कम्पनीको ब्याज कभरेज अनुपातमा उल्लेख्य सुधार आई १७.८७ गुणा पुगेको छ। कम्पनीले हाल १ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ।

अर्कोतर्फ, नेपालगञ्जमा रहेको सम्पत्ति खरिद गरी लर्ड बुद्धको सहायक कम्पनीका रूपमा स्थापित सन्जिवनी कलेज अफ मेडिकल साइन्सले पनि छोटो समयमै बलियो उपस्थिति जनाएको छ। सन् २०२४ मा नेपालगञ्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टरसँग मर्ज भएको यस कम्पनीले ३ सय १७ शय्याको अस्पताल निर्माण गरी स्वास्थ्य सेवा र नर्सिङ लगायतका शैक्षिक कार्यक्रम चलाइरहेको छ।

गत आर्थिक वर्षमा २१ करोड ९० लाखको व्यापार गरेको यस कम्पनीले चालु आवको ९ महिनामा १८.१९ प्रतिशत नाफा मार्जिन कायम गर्न सफल भएको छ। मध्यम स्तरको पुँजी संरचना रहेको यस कम्पनीको गियरिङ अनुपात १.४९ गुणा र ब्याज कभरेज अनुपात ४.९० गुणा छ। यस कम्पनीले ६८ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ।

1

Scroll to Top