काठमाडौँको भृकुटीमण्डपमा आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म आयोजना हुन लागेको ‘नाइमा अटो शो–२०२६’ को तयारी तीव्र गतिमा अघि बढेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार प्रदर्शनीलाई व्यवस्थित बनाउन थप जनशक्ति परिचालन गरिएको छ। यस वर्षको मेलामा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टलहरू रहनेछन्। अपाङ्गमैत्री संरचना, वर्षाबाट जोगाउने प्रबन्ध, गुणस्तरीय रेस्टुरेन्ट र नेपाल पुलिस क्लबमा पार्किङको उचित व्यवस्थापन गरिएकाले यो अटो शो विगतभन्दा अझ सहज र व्यवस्थित हुने आयोजकको दाबी छ।
यस पटकको नाइमा अटो शो केवल गाडी खरिद–बिक्री गर्ने थलोमा मात्र सीमित नरही नीतिगत बहस र ज्ञान साटासाट गर्ने साझा मञ्चका रूपमा प्रस्तुत हुँदैछ। मेलाको मुख्य आकर्षण ‘लर्निङ सेसन’ रहनेछ, जुन नेपाल पुलिस क्लबमा आयोजना हुनेछ र सर्वसाधारणका लागि पूर्ण रूपमा निःशुल्क हुनेछ। यस सेसनमा प्रत्यक्ष वैदेशिक लगानी यातायात पूर्वाधार, ट्राफिक व्यवस्थापन, इथानोल ब्लेन्डिङ र वित्तीय नीतिका साथै ब्याट्री रिसाइक्लिङबारे बहस हुनेछ। नेपालमा विद्युतीय सवारी को प्रयोग तीव्र रूपमा बढे पनि ब्याट्री रिसाइक्लिङ प्लान्ट नहुँदा देखिएको चुनौतीबारे चर्चा गर्न भारतका विज्ञहरूलाई समेत निमन्त्रणा गरिएको छ।
नाइमाले व्यावसायिक कारोबारका साथै सामाजिक र नीतिगत सुधारमा पनि ध्यान दिँदै आएको छ। संस्थाले ट्राफिक प्रहरीसँगको सहकार्यमा करिब १,६०० जनालाई विद्युतीय तथा हाइब्रिड सवारी सञ्चालन तालिम दिइसकेको छ। अध्यक्ष वैद्यले विद्युतीय सवारीमा ‘पिक पावर’का आधारमा कर तोक्ने व्यवस्था व्यावहारिक नभएकाले पुनर्विचार गर्न सरकारसँग माग गरेकी छन्। साथै, सडकमा लेन मार्किङ र पार्किङजस्ता न्यूनतम पूर्वाधार नबनाई जरिवाना मात्र बढाउनुको सट्टा पहिले पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ। नाइमामा आधिकारिक र परिपक्व कम्पनी मात्र सदस्य रहने भएकाले ग्राहकको हित सुरक्षित रहने दाबी पनि उनले गरिन्।
आगामी दिनमा नाइमाले यात्रुवाहक र व्यावसायिक सवारीको प्रदर्शनी छुट्टाछुट्टै आयोजना गर्ने र नीति, लगानी तथा प्रविधिमा केन्द्रित रहेर ‘अटोमोटिभ कन्क्लेभ’ सञ्चालन गर्ने योजना बनाएको छ। देशको वर्तमान सुस्त अर्थतन्त्रबारे बोल्दै अध्यक्ष वैद्यले नयाँ सरकारलाई स्थिति सम्हाल्न केही समय लाग्ने भएकाले व्यवसायीहरूले धैर्यता राख्नुपर्ने र आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नीतिगत सुधार आउने विश्वास व्यक्त गरिन्। ५५ ब्रान्डका नयाँ सवारी, चार्जिङ सोलुसन र उपयोगी लर्निङ सेसनको अवलोकन गर्न उनले सर्वसाधारणलाई सपरिवार अटो शोमा सहभागी हुन निमन्त्रणा समेत दिएकी छन्।


