स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत् व्यापार र प्रसारणलाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । इप्पानले सो अवसरमा विद्युत् खरीद सम्झौता (पीपीए) तुरुन्तै खुला गर्न, आरसीओडी म्याद थप गर्नुपर्ने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्ने, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्नेलगायत मागसमेत गरेको थियो ।
बिहीवार कार्यकारी निर्देशकलाई भेटेर इप्पानले निजी क्षेत्र प्रसारणलाइन निर्माण र विद्युत् व्यापारका लागि प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको वातावरण बनाउन आग्रह गरेको थियो । निजी क्षेत्र-प्राधिकरण सहकार्यमा निर्माणाधीन प्रसारणलाइनको सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै अन्य आयोजनाहरूमा पनि सहकार्य गर्न तथा प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीको शेयरहोल्डरको रुपमा निजी क्षेत्रलाई भित्र्याएर त्यसमार्फत समेत दुवै मिलेर सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले प्रसारणलाइन अभावमा ठूलो समस्या भोगेको उल्लेख गर्दै निजी क्षेत्र प्राधिकरणसँग मिलेर सहकार्य गर्न तयार रहेको बताए । उनले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमतिपत्र नदिउन्जेल प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रलाई सहभागी गराएर व्यापार अघि बढाउन सकिने बताए ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरणसँग सँगै अघि बढेर मात्र ऊर्जा क्षेत्रको विकास हुने बताउँदै दुवैबीच सुदृढ सहकार्य हुनुपर्ने बताए । इप्पान उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाललगायतले विद्युत् प्राधिकरणले उपयुक्त मोडल ल्याएर निजी क्षेत्रलाई प्रसारणलाइनमा सहभागी गराउनुपर्ने बताए ।
कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्रले समयमै प्रसारणलाइन निर्माण गर्नसक्ने अवस्था रहेको बताउँदै निजी क्षेत्र-प्राधिकरणले संयुक्त रुपमा प्रसारणलाइन निर्माण गर्ने अभ्यास शुरु भइसकेकाले यसलाई अघि बढाउनुको कुनै विकल्प नभएको बताए ।
‘प्रसारणलाइनको समस्या सबैभन्दा बढी देखिएको छ, यसको कारणले कन्टीन्जेन्सीलगायतका समस्या आएको हो, प्रसारणलाइन निर्माणले धेरै समस्या समाधान हुन्छ‚’ उनले भने, ‘प्राधिकरणसँग पर्याप्त बजेट नभएको बेलामा निजी क्षेत्रको लगानी ल्याउन सकिएमा यसले प्रसारणलाइनको मुख्य समस्या समाधान गर्छ ।’
उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीचको सन्तुलनको आवश्यकता रहेको बताउँदै विद्युत् प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे अध्ययन गर्ने बताए । उनले विद्युत् व्यापार कम्पनी सक्रिय बनाउन लागिएको जानकारी पनि दिए ।


