Banijya News

एक महिनामै चार पटक बढ्यो अण्डाको भाउ, मारमा उपभोक्ता

1
1.2K Shares

पछिल्लो समय अण्डाको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले एक महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेपछि उपभोक्ताहरु महँगीको मारमा परेका छन् ।

संघले जाडो मौसम सुरु भएसँगै मंसिर ३ गतेदेखि लागू हुने गरी पहिलो पटक अण्डाको मूल्य बढाएको थियो । त्यसबेला ठूलो अण्डाको प्रतिक्रेट ४५० र मध्यम अण्डाको ४३५ रुपैयाँ तोकिएको थियो । तर, त्यसको चार दिनमै मंसिर ७ गते फेरि मूल्य बढाउँदै एक्सएल अण्डाको प्रतिक्रेट ५२०, ठूलो ५०५ र मध्यम ४९० रुपैयाँ पुर्‍याइयो ।

मंसिर १३ गतेबाट लागु हुने गरि संघले तेस्रो पटक मूल्य समायोजन गरेर एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ र मध्यम अण्डा प्रतिक्रेट ५३० रुपैयाँ तोकेको थियो ।

संघले २० दिनको अवधिमा चौथो पटक मंसिर २३ गते मूल्य समायोजन गरेर एक्सएल अन्डाको प्रतिक्रेट मूल्य ५८० रुपैयाँ तोक्यो । यस्तै ठूलो अण्डा प्रतिक्रेट ५६५ र मध्यम अण्डाको ५५० रुपैयाँ निर्धारण गरेको थियो, जुन हाल पनि कायम रहेको छ ।

संघले तोकेको यो मूल्य होलसेल दर हो । खुद्रा पसलसम्म पुग्दा उपभोक्ताले प्रतिक्रेट ६०० रुपैयाँ भन्दा बढी तिर्नुपरेको छ । बानेश्वरकी उपभोक्ता प्रमिला खड्का भन्छिन्, ‘एक महिनाअघि ४५० मा पाइने अण्डालाई अहिले ६०० रुपैयाँ तिर्नुपरेको छ । यस्तो महँगीले भान्सा चलाउन गाह्रो भइसक्यो ।’

अण्डाको मूल्य बढ्नुमा जाडोका कारण उत्पादन घट्नु र किसानको लागत मूल्य बढ्नुलाई प्रमुख कारण बताइएको छ । व्यवसायीहरुले किसानलाई घाटाबाट जोगाउन र लागत उठाउन मूल्य समायोजन अनिवार्य रहेको दाबी गरेका छन् ।

यस अघि मंसिर ३ गते अण्डाको मूल्य समायोजन गर्दा संघले भारतमा भएको निर्वाचनका कारण आयात रोकिदा मूल्य बढाउनु परेको दाबी गरेको थियो ।

जबकी भारतबाट आउने अण्डामा भने सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा अण्डाको मूल्यमा भइरहेको निरन्तर वृद्धि उत्पादक संघहरूले गरेको मिलेमतोको परिणाम भएको र यसमा सरकारी निकायले नै आपराधिक गतिविधि गर्ने वातावरण बनाइरहेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।

व्यवसायी पक्षले जाडोका कारण उत्पादन घट्नु, दाना, चल्ला र कुखुराको लागत बढ्नु मूल्यवृद्धिको मुख्य कारण भएको दाबी गर्दै आएका छन् । किसानलाई घाटाबाट जोगाउन र लागत उठाउन मूल्य समायोजन अनिवार्य रहेको उनीहरूको भनाइ छ । यसअघि मंसिर ३ गते मूल्य बढाउँदा संघले भारतमा निर्वाचनका कारण आयात प्रभावित भएको तर्क पनि अघि सारेको थियो ।

बजारमा अधिकांश खुद्रा पसलमा बढी मूल्यमा अण्डा बिक्री गर्दा पनि नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै नियमन नगरेको उपभोक्ता अपधकारकर्मी माधव तिम्लिसिनाले बताए ।

विगतमा अण्डा उत्पादक संघले अण्डाको मूल्य निर्धारण गर्दै आएको थियो । पछिल्लो समयमा कहिले नेपाल लेयर्स कुखुरापालक संघ र पोल्ट्री व्यवसायी मञ्च लगायतका संघले पनि यस्तो मूल्य निर्धारण गर्दै आएको उनको भनाइ छ ।

किसानले लागत मूल्य पाउनुपर्ने धारणा राख्दै व्यवसायीहरुले आफु खुशी मूल्य निर्धारण गरेको उनले दाबी गरे ।

संघले भने अण्डाको लागतअनुसार थोक मूल्य निर्धारण गरिएको दाबी गरेको छ ।

1

Scroll to Top