विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीहरूको स्वामित्व अनुपात ७०ः३० कायम गर्न थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ।
कम्पनीले पुस २१ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गर्ने तयारी गरेको हो।
साविक नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपछि कम्पनीको चुक्ता पूँजी ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। त्यसबेला संस्थापक र सर्वसाधारणको स्वामित्व अनुपात ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन गर्न एफपीओ निष्कासन गर्न लागिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर (४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर) सर्वसाधारणमा निष्कासन गर्नेछ।
निष्कासन छिटोमा पुस २४ गते बन्द हुनेछ भने ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
एफपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एट’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत वा ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।


