Banijya News

तयारी पूरा भएका आयोजनाको बजेट फुकुवा

1
1.2K Shares

सरकारले रोकिएका तीन करोडभन्दा कम कार्यक्रमका योजनाहरुको कतिपय बजेट फुकुवा गरेको छ। चालु आर्थिक वर्षको गत असोजमा ३ करोडभन्दा कम बजेटका एकहजारभन्दा बढी आयोजना स्थगन गरेको थियो। तर केही दिन यता भने त्यस्ता आयोजनाहरूमा राखिएको बजेट फुकुवा गर्न थालिएको हो।

अर्थ मन्त्रालयकाअनुसार अहिले स्थगन गरिएका मध्ये कतिपय आयोजना प्रोजेक्ट बैंकमा प्रविष्ट रहेको र तिनमा सरकारले लगानी गरिसकेकाले रोक्का बजेट फुकुवा गर्न थालिएको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन्। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले तीन शर्त पूरा गरेका कतिपय आयोजनाहरुको स्थगन गरिएको बजेट फिर्ता गरिएको बताए।

गत असोजमा गरिएको परिपत्रबाट १२ सय आयोजना स्थगित गरिए पनि कतिपय आयोजनाको तयारी पुगेको देखिएकाले त्यस्ता आयोजनाहरुको बजेट फुकुवा गरिएको उनको भनाइ छ। पाण्डेकाअनुसार तयारी पुगेका र प्रोजेक्ट बैंकमा प्रविष्ट गरिएका आयोजनाहरुको बजेट फुकुवा गरिएको छ।

दोहोरो नपरेका आयोजनालाई अघि बढ्ने स्वीकृतिसमेत अर्थमन्त्रालयले दिसकेको छ। सडक, पुल, खानेपानी, कृषि सम्बन्धित कतिपय रोकिएका आयोजनाहरुको बजेट बजेट फुक्का गरिएको अर्थ मन्त्रालयको भनाइ छ। भौतिक मन्त्रालय अन्तर्गत १० अर्ब तथा खानेपानीका २ अर्ब बराबरका आयोजना फुकुवा भइसकेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रामहरी पोखरेलले बताए।

यस्तै शहरी विकास मन्त्रालयको ६२ अर्ब रुपैयाका आयोजना रोक्का रहेकोमा क्रमशः फुकुवा हुँदैछन्। सरकारले ठूलो संख्यामा कार्यक्रमहरु रोक्दा र ठेक्का तोड्दा बजेट कार्यान्वयन प्रभावित हुँदै आएको निर्माण व्यवसायी बताउछन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजेट खर्च कमजोर हुनुको कारक सरकार नै रहेको बताउँछन्।

उनका अनुसार आधा आर्थिक वर्ष बित्दा समेत बहुवर्षीय ठेक्का आह्वान नहुदा निर्माण क्षेत्र सुस्त रहेको र यसैमा निर्भर रहेका अन्य उद्योग पनि प्रभावित भएको छ । अध्यक्ष सिंहले सरकारले पछिल्लो समय ठेक्का तोड्दा पनि समस्या भइरहेको बताए।

1

Scroll to Top