सरकारले बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले निरन्तरता पाएको छ । गैरबजेटरी निकायले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ अर्ब ३३ करोड ४६ लाख खर्च गरेको छ ।
गैरबजेट निकायअन्तर्गत पर्ने बोर्ड, समिति वा सोहि प्रकृतिका दर्जनौं संस्थाहरुले ७९ अर्ब ६६ करोड ८४ लाख चालु, १७ अर्ब ७२ करोड ३४ लाख पुँजीगत र ९४ करोड २७ लाख वित्तीय व्यवस्थातर्फ खर्च गरेको छ ।
गैरबजेट निकायहरुले सबैभन्दा बढी पारिश्रमिक-सुविधा खर्च गरेको देखिन्छ । गत आर्थिक वर्ष ३३ अर्ब ८८ करोड ३४ लाख पारिश्रमिक-सुविधा खर्च, १७ अर्ब १३ करोड ८७ लाख मालसामान तथा सेवाको उपभोग खर्च, १ अर्ब ६४ करोड ९९ लाख ब्याज,सेवा शुल्क तथा बैंक कमिशनमा गैरबजेट निकायहरुले खर्च गरेको देखिन्छ ।
२ अर्ब २३ करोड ७७ लाख भवन तथा संरचना, २ अर्ब ४० करोड ९६ लाख सवारी साधन तथा मेशिनरी औजरमा खर्च गरेको छ । गैरबजेट निकायअन्तर्गत विभिन्न विश्वविद्यालय, अस्पताल, प्राधिकरण, काउन्सिल लगायत पर्छन् ।
तीनै तहका सरकारको वार्षिक एकीकृत वित्तीय विवरणमा गैरबजेटरी निकायको आम्दानी एवं खर्च उल्लेख गरिएको छ ।
गैरबजेटरी निकायको आम्दानी कति ?
गत आर्थिक वर्षमा सरकारको गैरबजेटरी खर्च र आम्दानीलाई तुलना गर्दा आम्दानी बढी रहेको छ । तर बजेट प्रणाली बाहिरबाट हुने खर्च र आम्दानी दुवै बजेट सुशासन भन्दा बाहिर हुने हुँदा यसलाई सहज मान्न नसकिने महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरु बताउँछन् । गैरबजेटरी खर्च र आम्दानीलाई व्यवस्थित गर्नु आवश्यक रहेको उनीहरुको भनाई छ ।
गैरबजेट निकायको राजस्व आम्दानी १ खर्ब ३८ अर्ब ४९ करोड ६४ लाख रहेको छ । ति निकायहरुले राजस्व, अनुदान र अन्य प्राप्ति अन्तर्गतको आम्दानी १ खर्ब ३७ अर्ब ९३ करोड ६४ लाख र लगानी तथा वित्तीय प्राप्ति अन्तर्गत ५६ करोड रहेको छ । प्रचलित लेखामानबमोजिम बजेट प्रणालीबाहिरका (एक्स्ट्रा बजेटरी) सार्वजनिक निकायसमेतको आम्दानी, खर्च, अनुदानलगायतका विषयमा समावेश गरी नक्सांकन (म्यापिङ) गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार महालेखा नियन्त्रक कार्यालयले गैरबजेटरी निकायको वित्तीय विवरणसमेत तयार पारेको महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरुले बताए ।
सरकारको बजेट प्रणालीबाहिरका (एक्स्ट्रा बजेटरी) सार्वजनिक निकाय नै गैरबजेटरी निकाय हुन् । यस्ता निकायबाट हुने खर्च सरकारको खाता (ट्रेजरी)भन्दा बाहिरबाट हुने गर्छ । सरकारले पहिलोपटक २०७९/८० मा गैरबजेटरी निकायको खर्च एवं आम्दानीको एकीकृत विवरण तयार पारेर सार्वजनिक गरेको थियो ।
संसदीय समितिमा सधैभरि गैरबजेटरी विषयको आलोचना भए पनि त्यसको समाधानमा सरकार लागेको देखिदैन । अझै विशेष गरी निर्वाचनको क्रममा हुने गैरबजेटरी शीर्षकमा हुने खर्चलाई लिएर समितिमा प्रश्नहरु उठाउने गरेको पाइन्छ ।


