Banijya News

महालक्ष्मी विकास बैंकको १०.३७ प्रतिशत लाभांश पारित

1
1.1K Shares

महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

सभामा प्रस्तुत विवरणअनुसार बैंकको वित्तीय अवस्थामा सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ९.३९ प्रतिशत रहेको आधार दर घटेर आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत कायम भएको छ। त्यस्तै, पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ।

बैंकको कुल निक्षेप ५६ अर्ब २२ करोड रुपैयाँ र कर्जा लगानी ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको जानकारी सभामा दिइयो। साधारण सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि र सागर मल्ल निर्वाचित भएका छन्। यस्तै, सर्वसाधारण समूहबाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र शालिकराम अर्याल निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको छ। सभामा अध्यक्ष उपाध्यायले सेयरधनीका सुझावलाई आत्मसाथ गर्दै बैंकलाई अझ सक्षम र गुणस्तरीय सेवा प्रदायक बनाउने प्रतिबद्धता व्यक्त गरे।

1

Scroll to Top