नागरिक लगानी कोषले जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अघि सारेको छ । कोषले प्रारम्भिक चरणमै जलविद्युत आयोजनामा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको हो । कोषको ३१ औँ वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी अघि बढाइएको जानकारी दिए।
कार्कीका अनुसार जलविद्युत क्षेत्रमा लगानीका लागि एक जलविद्युत कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ। साथै थप लगानीका सम्भावनाबारे अन्य जलविद्युत कम्पनीहरूसँग पनि छलफल भइरहेको र ती प्रक्रिया छिट्टै टुंगोमा पुग्ने उनले बताए।
स्वदेशी स्रोत र साधनको अधिकतम उपयोग गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ ऊर्जा क्षेत्रमा लगानी केन्द्रित गरिएको कोषको भनाइ छ । यसले कोषमा सहभागीहरूको लगानी सुरक्षित मात्र नभई मुलुकको ऊर्जा विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारण सभा आज नयाँ बानेश्वरस्थित आफ्नै केन्द्रीय कार्यालय परिसरमा सम्पन्न भएको थियो । सभामा कोषका भावी लगानी रणनीति, वित्तीय अवस्था र विकास योजनाबारे समेत छलफल गरिएको थियो।


