Banijya News

ऊर्जामा निजी क्षेत्रको १३ खर्ब १० अर्ब रुपैयाँ लगानी

1
1.1K Shares

नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले मात्रै १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । ईप्पानले गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी क्षेत्र मिलाएर १४ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यसमध्ये सरकारी क्षेत्रको लगानी १ खर्ब १ अर्ब रुपैयाँभन्दा केही बढी रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनामा ८ खर्ब ७० अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् भने निजी क्षेत्रको शेयर लगानी ४ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।

ऊर्जा क्षेत्रमा जनसहभागितासमेत उल्लेखनीय देखिएको छ। जलविद्युत् कम्पनीहरूले निष्काशन गरेका प्राथमिक सेयर (आइपीओ) मार्फत १ करोड ६३ लाखभन्दा बढी लगानीकर्ता सहभागी भएका छन्। दोस्रो बजारमा भने १ करोड ८ लाख शेयरधनी सक्रिय छन्। आइपीओमार्फत मात्रै हालसम्म ४१ अर्ब ६५ करोड रुपैयाँ पुँजी संकलन भएको छ, जसले ऊर्जा क्षेत्रलाई आम सर्वसाधारणको लगानी केन्द्रको रूपमा स्थापित गरेको देखिन्छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय आर्थिक विकास र समृद्धिको मेरुदण्डको रूपमा चित्रण गर्दै दीर्घकालीन रणनीति र नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ। हाल नेपालमा करिब ४ हजार मेगावाट विद्युत् उत्पादन भइरहेको र त्यसको ३ हजार ३ सय मेगावाटभन्दा बढी निजी क्षेत्रबाट आएको देखिन्छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार देशभर ९ सयभन्दा बढी जलविद्युत् आयोजना लाइसेन्स लिएर विभिन्न चरणमा अघि बढिरहेका छन्। कुल ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू पाइपलाइनमा रहेका छन् भने ४ हजार मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिइसकेको र करिब ५ हजार मेगावाट निर्माणाधीन अवस्थामा छ। जलविद्युत् क्षेत्रमा हालसम्म १ करोड १३ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गरिसकेको उनको भनाइ छ।

यद्यपि ऊर्जा क्षेत्रमा यति ठूलो लगानी भइरहँदा उत्पादन, खपत र व्यापार सन्तुलनका लागि समयमै स्पष्ट नीति नबने आगामी वर्षहरूमा व्यवस्थापन चुनौती गम्भीर हुन सक्ने चेतावनी पनि सरोकारवालाहरूले दिएका छन्। ऊर्जा क्षेत्रमा देखिएको लगानीको उत्साह अन्य उत्पादनशील क्षेत्रमा कसरी विस्तार गर्ने भन्ने बहससमेत तीव्र बन्दै गएको छ।

1

Scroll to Top