Banijya News

मूल्य वृद्धिदर २.४२ प्रतिशतले बढ्यो, कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ?

1
1.1K Shares

पुस महिनामा नेपालको औसत मूल्य वृद्धि २.४२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा पुस एक महिनामा औसत मूल्य वृद्धि २.४२ प्रतिशत देखिएको हो । गत पुसमा यस्तो वृद्धिदर ५.४१ प्रतिशत थियो। चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिना (साउनदेखि पुससम्म) को औसत मूल्य वृद्धि दर १.७० प्रतिशत छ। गत आर्थिक वर्ष २०८१-८२ को यो अवधिको औसत मूल्य वृद्धि ४.९७ प्रतिशत थियो। चालु आर्थिक वर्षमा मूल्य वृद्धि औसत पाँच प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ। यो ६ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा सबैभन्दा धेरै ५.२० प्रतिशत, घ्यु तेलमा ४.९६ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, गैर मदिराजन्य पेयपदार्थमा ३.०४ प्रतिशतले बढेको छ। तर, दाल तथा गेडागुडीको ५.५२ प्रतिशत, मरमसला ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले मूल्य घटेको छ। गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा २१.७५ प्रतिशत, शिक्षा ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलमा ५.२९ प्रतिशत, सुर्तिजन्य पदार्थको ४.१५ प्रतिशत र मदिरा तथा पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ।

विदेशी विनिमय सञ्चिति साढे ३२ खर्ब

विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशतले वृद्धि भई ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चितिमा ३६.२ प्रतिशतको उच्च वृद्धि देखिएको छ । २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति चालु आव पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब ५८ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ ।

२०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । हालको सञ्चिति नेपालको आर्थिक इतिहासमै निकै बलियो स्थितिमा देखिएको छ । २०८२/८३ पहिलो ६ महिनाको आयात आधार मान्दा अहिलेको सञ्चितिले २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ र ४०.५ प्रतिशत छ ।

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षका बितेका ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्षको पुस महिनामा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ६ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् ।

प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । समीक्षा अवधिमा चालू खाता चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर पाँच खर्ब १ अर्ब २४ करोड बचतमा रहेको छ । विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

६ महिनामा सरकारकाे खर्च करिब ७ खर्ब, पूँजीगत खर्च अझै न्यून

चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्मको सरकारी खर्च राजस्व संकलनको तुलनामा बढी देखिएको हो । समीक्षा अवधिमा भएको कुल खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा ठूलो छ । सरकारले ६ महिनामा ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ ।

विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्चको अवस्था भने अझै उत्साहजनक छैन । पुस मसान्तसम्म सरकारले मात्र ४९ अर्ब ४३ करोड पूँजीगत खर्च गर्न सकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५३ अर्ब ६५ करोड खर्च भएको छ । प्रतिवेदन अनुसार समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ । यसमध्ये कर राजस्व मार्फत ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वतर्फ ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । खर्चको तुलनामा राजस्व संकलन करिब १ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँले न्यून देखिएको छ ।

ढुकुटीमा ३ खर्ब ४६ अर्ब नगद मौज्दात

यसैगरी २०८२ पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड नगद मौज्दात छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड थियो ।

प्रदेश सरकारका खर्च ३९ अर्ब ८७ करोड

तथ्यांक अनुसार सातै प्रदेश सरकारको कुल खर्च समीक्षा अवधिमा ३९ अर्ब ८७ करोड छ । सोही अवधिमा प्रदेशहरूको कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड पुगेको छ । प्रदेशहरूको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वको हिस्सा ६९ अर्ब ३३ करोड रुपैयाँ छ । प्रदेशहरूले आफ्नै आन्तरिक र अन्य स्रोतबाट भने २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

सुस्त गति लिँदै अर्थतन्त्र

चालु आर्थिक वर्ष पहिलो ६ महिना बितिसक्दा बल्ल अर्थतन्त्रले सुस्त गति देखाएको छ । समग्र मागमा कमी आएका कारण सुस्त भएको अर्थतन्त्रमा आर्थिक गतिविधि बढेको हो । चालु आव पछिल्लो तीन महिना क्रमिक रूपमा आर्थिक गतिविधि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।केन्द्रीय बैंकका अनुसार आर्थिक गतिविधि बढेपछि मूल्यवृद्धि पनि बढेको छ । चालु आव पछिल्ला तीन महिना ऋणात्मक हुन लागेको मुद्रास्फीति बढ्न थालेको तथ्यांकले पनि आर्थिक गतिविधि बढ्न थालेको देखाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा पनि करिब २ खर्ब पुगेको आधारमा अर्थतन्त्रले सुस्त गति समाउन खोजेको स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकका अनुसार कात्तिकमा १.११ प्रतिशत रहेको मुद्रास्फीति मंसिरमा बढेर १.६३ प्रतिशत पुगेको थियो । त्यसैगरी पुसमा मुद्रास्फीति २.४२ प्रतिशत पुगेको छ । यो तथ्यांकका आधारमा पनि आर्थिक गतिविधि बढेको स्पष्ट हुन्छ । त्यस आधारमा पनि सुस्त रहेको अर्थतन्त्रले सुस्त गति लिन थालेको देखिन्छ । चालु आव ६ महिनासम्म अर्थतन्त्रको वाह्य क्षेत्र आवश्यकता भन्दा सबल अवस्थामा छ । तर, अन्तरिक गतिविधि बढ्न नसक्दा समग्र अर्थतन्त्र सुस्त भएको हो ।

अर्थतन्त्रको वाह्य क्षेत्रको कुरा गर्दा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड बचतमा छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ ।

चालु आव पुसको विप्रेषण (रेमिट्यान्स) आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड छ । चालु आव ६ महिनासम्मको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको केन्द्रीय बैंकले जनाएको छ । ६ महिनामा निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको छ । त्यसैगरी सोही अवधिमा नेपाल सरकारको खर्च ६ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड छ । चालु आवको विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत छ ।

गैरखाद्यमा महँगीको भार अधिक, शिक्षामा मात्रै ७.५६ प्रतिशतको मूल्यवृद्धि

सर्वसाधारणले प्रायः दैनिक उपभोग्य खाद्यान्नको महँगी बढेको महसुस गरिरहेका छन् । तर, यसपटक भने गैरखाद्य वस्तुमा अधिक मूल्यवृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले समग्र खाद्य वस्तुको मद्रास्फिति घटेको देखाको छ । उक्त तथ्यांकअनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ ।

समग्रमा खाद्यको मुद्रास्फिति ऋणात्मक देखिए पनि यसबीच खाद्य वस्तुअन्तर्गतका माछामासु, अण्डा, दूधजन्य उत्पादनहरू, तेल, घिउ, फलफूल, चिनी–चिनीजन्य उत्पादनहरू र जुसजस्ता गैर पेय पदार्थहरूको मूल्य भने बढेको केन्द्रीय बैंकको तथंकमा देखिन्छ । यस अवधिमा तरकारी, गेडागुडी, दाल र मसलाहरूको मूल्यवृद्धि गत वर्षको भन्दा घटेको केन्द्रीय बैंकले गरेको सर्भेबाट देखिएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ । तर, पछिल्लो समय गैरखाद्यअन्तर्गतका लत्ताकपडा, स्वास्थ्य, शिक्षा, यातायात, घरभाडा, सञ्चार (इन्टरनेट), रेष्टुरेन्टलगायतको खर्च भने ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसअनुरुप गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०३ प्रतिशतले घटेको छ ।

यस्ता गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा खाद्य समूहहरूको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । तर, समग्रमा चालु आवको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । यसअनुसार पुस महिनाको औसत मुदास्फीति १.७० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।

गाउँभन्दा शहरमा बढी महँगी

यो आवको पुससम्ममा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.९९ प्रतिशतले बढ्दा सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २.५७ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशको ३.३७ प्रतिशत वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ । यसबोहक कोसी प्रदेशको ३.२५ प्रतिशत, वाग्मती प्रदेशको २.१० प्रतिशत, गण्डकी प्रदेशको १.७६ प्रतिशत, लुम्बिनी प्रदेशको २.६२ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.२७ प्रतिशत वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति रहेको छ । अझ काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४८ प्रतिशत, तराईको २.६५ प्रतिशत, पहाडको १.९४ प्रतिशत र हिमालको २.६६ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

1

Scroll to Top