Banijya News

रोक्का गरिएका ‘टुक्रे आयोजना’को ४२ अर्ब ६८ करोड बजेट फुकुवा

1
1.1K Shares

वित्तीय अनुशासन कायम गर्ने भन्दै सरकारले यसअघि रोक्का गरेको टुक्रे तथा तयारी नपुगेका आयोजनामध्ये ४२ अर्ब ६८ करोड रुपैयाँ बजेट फुकुवा भएको छ । पुँजीगत बजेटतर्फ रोक्का गरिएको कुल एक खर्ब १४ अर्ब ५३ करोडमध्ये १५ माघसम्म उक्त रकम खर्चका लागि खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आयोजना छनोटमा मापदण्ड पालना नभएको, आयोजना बैंकमा प्रविष्ट नगरी तथा राजनीतिक दबाबमा बजेट विनियोजन गरिएको भन्दै मन्त्रिपरिषद्को ५ असोजको निर्णयअनुसार ५३ वटा टुक्रे तथा तयारी नपुगेका आयोजनाको बजेट रोक्का गरिएको थियो ।

अर्थ मन्त्रालयको प्रस्तावमा भएको उक्त निर्णयलाई वित्तीय अनुशासनको प्रयासका रूपमा लिइएको थियो । तर, पछिल्ला महिनामा राजनीतिक दल तथा सम्बन्धित मन्त्रालयको दबाबपछि बजेट फुकुवा सुरु भएको मन्त्रालय स्रोतले बताएको छ । हालसम्म सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, ऊर्जा, पर्यटन, वन तथा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका आयोजनाको बजेट फुकुवा भइसकेको छ । उद्योग तथा संघीय मामिला मन्त्रालयले पनि रोक्का बजेट फुकुवाका लागि दबाब बढाइरहेका छन् । यसका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चालूतर्फको केही बजेट पनि फुकुवा गरिएको छ ।

फुकुवा भएको बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा सहरी विकास मन्त्रालयको छ । यस मन्त्रालयअन्तर्गत रोक्का गरिएको बजेटमध्ये १९ अर्ब ९२ करोड ६२ लाख रुपैयाँ फुकुवा भइसकेको छ । सहरी विकास मन्त्रालयको कुल ६४ अर्ब दुई करोडभन्दा बढी बजेट रोक्का गरिएको थियो । कुल रोक्कामध्ये ३१ प्रतिशतभन्दा बढी रकम फुकुवा भइसकेपछि बजेट अनुशासनबारे प्रश्न उठ्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हकमा सुरुवातमा रोक्का गरिएको बजेटको ६४.६९ प्रतिशत अर्थात् १२ अर्ब ७८ करोड २६ लाख रुपैयाँ फुकुवा गरिएको छ । ठूला ठेक्का र ठेकेदारको दबाबका कारण यस मन्त्रालयको बजेट फुकुवालाई प्राथमिकतामा राखिएको बताइन्छ ।

खानेपानी मन्त्रालयको रोक्का बजेटमध्ये ३९.१२ प्रतिशत अर्थात् पाँच अर्ब ५९ करोड ९५ लाख र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ४५.५४ प्रतिशत अर्थात् तीन अर्ब ३१ करोड ३० लाख रुपैयाँ फुकुवा भएको छ । खानेपानी मन्त्रालयको १४ अर्ब ३१ करोड ३५ लाख र ऊर्जा मन्त्रालयको सात अर्ब २७ करोड ४८ लाख रुपैयाँ बजेट यसअघि रोक्का गरिएको थियो । पर्यटन मन्त्रालयको रोक्का बजेटमध्ये जम्मा ५.४ प्रतिशत अर्थात् २१ करोड ५९ लाख रुपैयाँ मात्रै फुकुवा भएको छ । युवा तथा खेलकुद मन्त्रालयको हकमा झन्डै १३ प्रतिशत अर्थात् ३६ करोड रुपैयाँ बजेट खुला गरिएको छ । वन मन्त्रालयको ६४ करोड दुई हजार रुपैयाँ रोक्का भएकामा १८ करोड ४० लाख रुपैयाँ फुकुवा भइसकेको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चालूतर्फ रोक्का गरिएको बजेटमध्ये ३० करोड रुपैयाँ फुकुवा गरिएको छ । यसअघि चालूतर्फ पाँच अर्ब ४३ करोडभन्दा बढी बजेट रोक्का गरिएको थियो । कार्यक्रममा खर्च, ससर्त चालू अनुदान तथा पुँजीगत ससर्त अनुदान शीर्षकमा ठूलो रकम रोक्का गरिएको थियो । अर्थमन्त्री रामेश्वर खनालले सम्बन्धित मन्त्रालयबाट कारणसहित माग भएका आयोजनाको हकमा मात्रै बजेट फुकुवा गरिएको दाबी गरेका छन् । उनका अनुसार टेन्डर भइसकेका, टेन्डरको सूचना प्रकाशन भएका, निरन्तरता दिनैपर्ने आयोजना तथा विगतको दायित्व भुक्तानी गर्नुपर्ने अवस्थामा बजेट फुकुवा गरिएको हो । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले पनि दायित्व सिर्जना भइसकेका र खरिद प्रक्रिया अघि बढेका आयोजनाको बजेट रोकिराख्न नमिल्ने भएकाले फुकुवा गरिएको बताए । उनका अनुसार टुक्रे तथा पूर्वतयारी नभएका आयोजना भने अझै रोक्कामै छन् ।

पूर्वमहालेखा नियन्त्रक सुरेश प्रधानले भने बजेट रोक्का र फुकुवाको विषयभन्दा पनि समस्या आयोजना छनोट र प्रशासनिक व्यवस्थापनमै रहेको टिप्पणी गरेका छन् । सम्भाव्यता अध्ययन नगरी तथा पूर्ण तयारी बिना आयोजना बजेटमा समावेश गर्नु नै मूल समस्या भएको उनको भनाइ छ । उनका अनुसार राजनीतिक हस्तक्षेपले बजेट प्रणालीलाई कमजोर बनाउँदै लगेको छ ।मन्त्रिपरिषद्को निर्णयमा तीन करोडभन्दा कम लागतका टुक्रे आयोजना, आयोजना बैंकमा प्रविष्ट नभएका तथा पछिल्ला वर्षमा कार्यान्वयन गर्ने भनिएका आयोजना तत्काल कार्यान्वयन नगर्ने स्पष्ट उल्लेख थियो ।

1

Scroll to Top