चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्मको सरकारी खर्च राजस्व संकलनको तुलनामा बढी देखिएको हो । समीक्षा अवधिमा भएको कुल खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा ठूलो छ । सरकारले ६ महिनामा ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ चालु खर्च गरेको छ ।
विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्चको अवस्था भने उत्साहजनक छैन । पुस मसान्तसम्म सरकारले मात्र ४९ अर्ब ४३ करोड पूँजीगत खर्च गर्न सकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५३ अर्ब ६५ करोड खर्च भएको छ । प्रतिवेदन अनुसार समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ५ खर्ब ७७ अर्ब ४० करोड पुगेको छ । यसमध्ये कर राजस्व मार्फत ५ खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्वतर्फ ६१ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ । खर्चको तुलनामा राजस्व संकलन करिब १ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँले न्यून देखिएको छ ।
यसैगरी २०८२ पुस मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ४६ अर्ब ३७ करोड नगद मौज्दात छ । यसमा प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत समावेश छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ४९ अर्ब ८३ करोड थियो ।
तथ्यांक अनुसार सातै प्रदेश सरकारको कुल खर्च समीक्षा अवधिमा ३९ अर्ब ८७ करोड छ । सोही अवधिमा प्रदेशहरूको कुल स्रोत परिचालन ९१ अर्ब ५४ करोड पुगेको छ । प्रदेशहरूको कुल स्रोत परिचालनमा सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वको हिस्सा ६९ अर्ब ३३ करोड रुपैयाँ छ । प्रदेशहरूले आफ्नै आन्तरिक र अन्य स्रोतबाट भने २१ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।
सुस्त गति लिँदै अर्थतन्त्र
चालु आर्थिक वर्ष पहिलो ६ महिना बितिसक्दा बल्ल अर्थतन्त्रले सुस्त गति देखाएको छ । समग्र मागमा कमी आएका कारण सुस्त भएको अर्थतन्त्रमा आर्थिक गतिविधि बढेको हो । चालु आव पछिल्लो तीन महिना क्रमिक रूपमा आर्थिक गतिविधि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।केन्द्रीय बैंकका अनुसार आर्थिक गतिविधि बढेपछि मूल्यवृद्धि पनि बढेको छ । चालु आव पछिल्ला तीन महिना ऋणात्मक हुन लागेको मुद्रास्फीति बढ्न थालेको तथ्यांकले पनि आर्थिक गतिविधि बढ्न थालेको देखाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा पनि करिब २ खर्ब पुगेको आधारमा अर्थतन्त्रले सुस्त गति समाउन खोजेको स्पष्ट हुन्छ ।
केन्द्रीय बैंकका अनुसार कात्तिकमा १.११ प्रतिशत रहेको मुद्रास्फीति मंसिरमा बढेर १.६३ प्रतिशत पुगेको थियो । त्यसैगरी पुसमा मुद्रास्फीति २.४२ प्रतिशत पुगेको छ । यो तथ्यांकका आधारमा पनि आर्थिक गतिविधि बढेको स्पष्ट हुन्छ । त्यस आधारमा पनि सुस्त रहेको अर्थतन्त्रले सुस्त गति लिन थालेको देखिन्छ । चालु आव ६ महिनासम्म अर्थतन्त्रको वाह्य क्षेत्र आवश्यकता भन्दा सबल अवस्थामा छ । तर, अन्तरिक गतिविधि बढ्न नसक्दा समग्र अर्थतन्त्र सुस्त भएको हो ।
अर्थतन्त्रको वाह्य क्षेत्रको कुरा गर्दा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड बचतमा छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले बढेको छ ।
चालु आव पुसको विप्रेषण (रेमिट्यान्स) आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड छ । चालु आव ६ महिनासम्मको कुल रेमिट्यान्स १० खर्ब ६२ अर्ब पुगेको केन्द्रीय बैंकले जनाएको छ । ६ महिनामा निर्यात ४३.८ प्रतिशत र आयात १४.२ प्रतिशतले बढेको छ । त्यसैगरी सोही अवधिमा नेपाल सरकारको खर्च ६ खर्ब ९० अर्ब २२ करोड र राजस्व परिचालन ५ खर्ब ७७ अर्ब ४० करोड छ । चालु आवको विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत छ ।


