Banijya News

फागुनदेखि लागू हुनेछ मार्जिन कारोबार सम्बन्धी निर्देशिका, कति हुनु पर्छ ब्रोकरको पुँजी ?

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जारी गरेको मार्जिन कारोबार सुविधासम्बन्धी नयाँ निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ। निर्देशिकाअनुसार मार्जिन कारोबार सेवा प्रदान गर्न चाहने ब्रोकर कम्पनीको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्नेछ। बोर्डले मंगलबार सार्वजनिक गरेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ ले यसअघि कायम रहेको पूँजी सीमालाई उल्लेख्य रूपमा बढाएको हो। मार्जिन कारोबारसम्बन्धी २०७४ सालको निर्देशनमा यस्तो सेवा दिन खुद सम्पत्ति कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था थियो। नयाँ प्रावधानले चुक्तापूँजीको न्यूनतम सीमा नै २० करोड रुपैयाँ तोकेर मापदण्ड कडा बनाएको छ।

मार्जिन कारोबार भन्नाले लगानीकर्ताले आफ्नो विद्यमान शेयर वा अन्य धितोपत्रलाई धितो राखी ब्रोकरबाट सापटी रकम लिएर थप धितोपत्र खरिद गर्ने व्यवस्था हो। यसले लगानीकर्ताको खरिद क्षमता बढाउने भए पनि बजारमा उतारचढाव हुँदा घाटाको जोखिम पनि उच्च हुने गर्छ। निर्देशिकाअनुसार मार्जिन कारोबार सेवा दिन चाहने ब्रोकर कम्पनीले राफसाफ सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। साथै, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी भएको वा सहायक कम्पनीका रूपमा रहेको धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता लिएको हुनुपर्नेछ। यसले प्रणालीगत पारदर्शिता र जोखिम व्यवस्थापनलाई मजबुत बनाउने बोर्डको अपेक्षा छ।

नयाँ व्यवस्थाअनुसार ब्रोकर कम्पनीले आफ्नो प्रमाणित नेटवर्थको अधिकतम पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्। यसअघि यस्तो सीमा नेटवर्थको दुई गुणासम्म मात्र थियो। यद्यपि, एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई प्रदान गरिने मार्जिन सुविधा भने ब्रोकरको नेटवर्थको १० प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था यथावत् राखिएको छ। स्रोत व्यवस्थापनका हिसाबले पनि दायरा फराकिलो बनाइएको छ। अब ब्रोकर कम्पनीले आफ्नै स्रोत, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा आफ्ना शेयरधनी वा सञ्चालकबाट लिएको विनाधितो ऋण प्रयोग गरी मार्जिन सेवा दिन सक्नेछन्। तर, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र शेयरधनी वा सञ्चालकबाट लिएको विनाधितो ऋणको कुल परिमाण भने कम्पनीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नपाइने व्यवस्था गरिएको छ।

मार्जिनसम्बन्धी मापदण्डमा पनि संशोधन गरिएको छ। सूचीकृत कम्पनीको बजार मूल्यको न्यूनतम ३० प्रतिशत रकम प्रारम्भिक मार्जिनका रूपमा लगानीकर्ताबाट लिनुपर्नेछ। त्यस्तै, बजारको अवस्था र जोखिम मूल्यांकन गर्दै न्यूनतम २० प्रतिशत सम्भार (मेन्टेनेन्स) मार्जिन कायम गर्नुपर्नेछ। बजार मूल्य घटेर आवश्यक सम्भार मार्जिन कायम हुन नसकेमा ब्रोकरले लगानीकर्तालाई ‘मार्जिन कल’ गर्नुपर्नेछ। प्रारम्भिक मार्जिन र सम्भार मार्जिनसम्बन्धी नयाँ व्यवस्थामा सूचीकृत कम्पनीको बजार मूल्यको न्यूनतम ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनका रूपमा लिनुपर्नेछ । मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँगै न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम गर्नुपर्नेछ ।

शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरीद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुनेछ । लगानीकर्ताले उक्त मार्जिन कायम गर्न नसकेमा ब्रोकर कम्पनीले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्नेछ । यसअघि सूचीकृत कम्पनीको शेयरको १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्ने व्यवस्था थियो । त्यस्तै बजारको जोखिम हेरी न्यूनतम २० प्रतिशत मार्जिन कायम रहने गरी ग्राहकसँग सम्भार मार्जिन लिनुपथ्र्यो । नयाँ निर्देशिकाबमोजिम मार्जिन कारोबार सुविधाको अवधि बढीमा १ वर्ष हुनेछ । यसअघि अवधि सम्बन्धमा स्पष्ट व्यवस्था थिएन ।

मार्जिन कारोबार सुविधा प्राप्त गर्न लगानीकर्ताले ब्रोकरमार्फत छुट्टै मार्जिन कारोबारखाता खोल्नुपर्ने हुन्छ । ब्रोकरले राफसाफ प्रयोजनका लागि केन्द्रीय निक्षेप कम्पनीमा मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्नुपर्नेछ । मार्जिन कारोबारका लागि खोलिएको मार्जिन कारोबार खाता र राफसाफ सदस्यको मार्जिन राफसाफ हितग्राही खातासँग आबद्ध गर्नुपर्नेछ ।

1

Scroll to Top