Banijya News

एडीबीद्धारा ५ अर्ब ९२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

1
1.1K Shares

एसियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई ४ करोड अमेरिकी डलर (करिब ५ अर्ब ९२ करोड रुपैयाँ बराबर) को सहुलियत ऋण स्वीकृत गरेको छ । डिजिटल रूपान्तरण अभियान तीव्र बनाउन तथा नागरिक र व्यवसायका लागि प्रभावकारी डिजिटल सेवामा पहुँच विस्तार गर्न उक्त रकम बराबरको ऋण स्वीकृत गरिएको एडीबीले जनाएको छ ।

‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ दक्षिण एसियामा पहिलो परियोजना हो । यो कार्यक्रम एडीबी र विश्व बैंकको आर्थिक सहयोगका सञ्चालित छ । परियोजनाले देशको डाटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधार सुदृढ बनाउँदै सरकारी तथ्यांक सुरक्षा र त्यसको स्थायित्व क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ । यसले आधुनिक र प्रयोगकर्ता–मैत्री सेवाका लागि मुख्य डिजिटल सार्वजनिक पूर्वाधार विकास गर्न सहयोग पुर्‍याउने एडीबीले जनाएको छ ।

‘यस परियोजनाले एकीकृत नागरिक सेवा पोर्टल विकास, राष्ट्रिय सामाजिक दर्ता प्रणालीमा सुधार, सुरक्षित तथा प्रभावकारी सूचना आदान–प्रदानका लागि तीनै तहका सरकारबीचमा डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना, करिब ११ वटा उच्च प्रभाव पार्ने सरकारी सेवाहरूलाई डिजिटल रूपान्तरण गर्ने जस्ता महत्वपूर्ण काम गर्नेछ,’ एडीबीको विज्ञप्तिमा उल्लेख छ ।

एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड काउचोइसले नेपालमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न र नेपालको आर्थिक विकासलाई सहयोग गर्न डिजिटल रूपान्तरण अत्यन्त आवश्यक भइसकेको बताए । ‘एडीबी र विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमले नागरिकका महत्वपूर्ण सेवामा पहुँच सजिलो बनाउने, लामो समय लाइनमा बस्नुपर्ने व्यवस्था कम गर्ने र प्रशासनिक अवरोध कम गर्ने, सरकारी सेवा सुविधामा छिटोछरितो र पारदर्शी बढाउनेछ,’ उनले भने, ‘यसले नागरिक र सार्वजनिक निकायबीच विश्वास बढाउन मद्दत गर्नेछ ।’

यो परियोजना नेपाल सरकारको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमार्फत कार्यान्वयन हुने उल्लेख छ ।

1

Scroll to Top