Banijya News

गोरखकाली रबर उद्योग: पुनः सञ्चालनको मार्गचित्र

1
1.1K Shares

एक दशकदेखि बन्द अवस्थामा रहेको गोरखास्थित गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। अर्थ मन्त्रालयले सातवटा रुग्ण सार्वजनिक संस्थानहरूको पुनरुत्थान गर्ने प्रक्रिया अघि बढाएसँगै एसियाली विकास बैंक ले यस उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएको हो ।

प्रतिवेदनले उद्योगका भवनहरू संरचनागत रूपमा अझै बलियो रहेको र हालकै प्लान्टबाट पनि उत्पादन सुरु गर्न सकिने सकारात्मक निष्कर्ष निकालेको छ। यद्यपि, उद्योगलाई दीर्घकालीन रूपमा लैजान पुराना मेसिनरीलाई आधुनिक र्‍याडियल’ प्रविधिले प्रतिस्थापन गर्नुपर्ने सुझाव दिइएको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार प्रतिवेदनमा उद्योगको भविष्यका लागि तीनवटा मुख्य विकल्पहरू सुझाइएका छन् ।

प्रतिवेदनले पहिलो विकल्पका रूपमा उद्योगलाई पुनर्संरचना गरी नयाँ लगानीकर्ता भित्र्याउने प्रस्ताव गरेको छ । यस अन्तर्गत ऋणलाई सेयरमा परिणत गर्ने, स्वदेशी वा विदेशी रणनीतिक साझेदार खोज्ने र पूँजी वृद्धि गरी आधुनिक प्रविधिमार्फत उद्योग चलाउन सकिने उल्लेख छ ।
दोस्रो विकल्पका रूपमा सम्पत्तिको मौद्रीकरण र भाडा मोडल अघि सारिएको छ । ठूलो पूँजी लगानी गर्न कठिन भएमा उद्योगको नाममा रहेको जग्गा र भवन भाडामा दिएर आम्दानी गर्ने वा आंशिक पुनर्संरचना गरी सञ्चालन करार मा दिन सकिने सुझाइएको छ। यदि यी दुवै विकल्प सम्भव नभएमा, तेस्रो विकल्पका रूपमा कम्पनी खारेज गरी सम्पत्ति बिक्री गर्ने र दायित्व फरफारक गर्ने सुझाव दिइएको छ ।

विगत १० वर्षदेखि उत्पादन ठप्प रहेको यस उद्योगको वित्तीय अवस्था भने निकै कमजोर देखिएको छ। प्रतिवेदनका अनुसार उद्योगको खुद सम्पत्ति ४ अर्ब २१ करोडले ऋणात्मक छ भने कुल दायित्व ४ अर्ब ४३ करोड पुगेको छ । तर, जग्गाको बजार मूल्य बढेका कारण स्थिर सम्पत्तिको समायोजित मूल्य करिब ३ अर्ब ७७ करोड हुने अनुमान गरिएको छ।
उद्योग परिसरमा रहेका करिब २ हजार ५ सय खयरका रुखहरू बिक्री गर्दा मात्रै ६२ करोड रुपैयाँ आम्दानी हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। साथै, गोरखकालीको ब्रान्ड भ्यालुु २२ करोड २६ लाख रुपैयाँ बराबर रहेको मुल्यांकन गरिएको छ। हाल यस उद्योगमा नेपाल सरकारको प्रत्यक्ष र अप्रत्यक्ष गरी ५१.८८ प्रतिशत सेयर स्वामित्व रहेको छ।

नेपालमा टायरको बजार उच्च रहेको प्रतिवेदनले औंल्याएको छ। हाल नेपालमा करिब ६० लाख सवारीसाधन दर्ता छन् र वार्षिक ९ लाख जति टायर आयात हुने गरेको छ। स्वदेशी बजार मात्र नभई भारत, चीन र बंगलादेशमा समेत निर्यातको प्रचुर सम्भावना देखिएको छ।

कच्चा पदार्थको हकमा, नेपालमा हाल वार्षिक १ हजार २ सय टन प्राकृतिक रबर उत्पादन हुने गरे पनि माग भने १० हजार टनभन्दा बढी छ। तत्कालका लागि कच्चा पदार्थ आयात गर्नुपर्ने भए तापनि झापा लगायतका जिल्लामा व्यावसायिक रबर खेती विस्तार गरी आत्मनिर्भर हुन सकिने प्रतिवेदनले मार्गचित्र प्रस्तुत गरेको छ। २०४९ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०७२ असारदेखि पूर्ण रूपमा बन्द छ।

1

Scroll to Top