Banijya News

नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ सहआयोजक

1
1.1K Shares

 नेपाल निर्यात व्यवसायी महासंघ नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा सहआयोजकको रूपमा जोडिएको छ। सम्झदारीपत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको हो। 

समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०० उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। समिटमा निर्यात, कृषि, पर्यटन, ऊर्जा, एआई, आईटी तथा सूचना प्रविधि मुख्य विषयका रूपमा समेटिने छन्। महासंघले विशेषगरी निर्यात क्षेत्रका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने जनाएको छ।

हस्ताक्षरपछि बोल्दै अध्यक्ष घिमिरेले वर्तमान अर्थतन्त्रका चुनौती समाधानका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए। त्यस्तै, इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले विभिन्न क्षेत्रका नीतिगत तथा व्यवहारिक चुनौती, सम्भावना र अवसरबारे उद्यमीहरूबीच व्यापक संवाद हुने जानकारी दिए। साथै, ती विषयलाई कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गरे।

सम्झदारी कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष देवआनन्द सरावगी, महासचिव शिवप्रसाद भट्ट तथा इन्स्टिच्युटका कार्यक्रम निर्देशक भुवन उप्रेती र कार्यक्रम व्यवस्थापक चन्द्रभक्त अधिकारीलगायतको उपस्थिति रहेको थियो।

1

Scroll to Top