Banijya News

विद्युतीय गाडी आयातमा गिरावट

1
1.1K Shares

चीनसँगको मुख्य व्यापारिक नाका रसुवा र तातोपानी लामो समय अवरुद्ध हुँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा विद्युतीय गाडी (ईभी) आयात घटेको छ । बाढी र पहिरोका कारण नाका ठप्प हुँदा आयात प्रक्रिया प्रभावित बनेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को पुससम्म चारपांग्रे विद्युतीय गाडी १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बराबरको ५ हजार ७१ थान आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो । गत आवको पुससम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका ५ हजार ४ सय ८० थान ईभी आयात भएका थिए ।

गत असार २३ गते तिब्बतको ल्हेन्दे खोलामा आएको बाढीले मित्तेरी खोलाको पुल बगाएपछि रसुवा नाका पूर्ण रूपमा ठप्प भएको थियो । त्यसैगरी पहिरोका कारण तातोपानी नाका पनि केही समय बन्द हुँदा चीनबाट हुने सवारीसाधन आयातमा ठूलो असर परेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

यद्यपि चीनले ल्हेन्दे खोलामा अस्थायी बेलिब्रिज निर्माण गरेपछि करिब छ महिनापछि पुसको दोस्रो सातादेखि रसुवा नाका पुनः सञ्चालनमा आएको छ । तातोपानी नाका पनि हाल सुचारु अवस्थामा रहेको भन्सार कार्यालयले जनाएको छ ।

नाका खुलेसँगै अहिले रसुवाबाट सातामा २०–२५ वटादेखि ५० वटासम्म विद्युतीय गाडी आयात हुन थालेका छन् । आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ र पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको गौतमले जानकारी दिए ।

हाल रसुवामा निर्माणाधीन नयाँ ड्राइपोर्टको काम भने अझै सुरु भइसकेको छैन । भन्सार कार्यालयका अनुसार उपलब्ध ड्राइपोर्ट क्षेत्रको सरसफाइ र व्यवस्थापन गरेर नै आयात–निर्यातका काम सञ्चालन भइरहेका छन् ।

व्यवसायीहरूका अनुसार नाका पूर्ण रूपमा सहज भएपछि आगामी महिनामा ईभी आयात क्रमशः बढ्ने अपेक्षा गरिएको छ । तर, भौतिक पूर्वाधारको कमजोरी र सीमावर्ती नाकामा देखिने प्राकृतिक जोखिमले आयात व्यापार अझै अस्थिर रहने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

1

Scroll to Top