Banijya News

कामना सेवा विकास बैंक लिमिटेडको अग्राधिकार सेयर बाँडफाँट

1
1.1K Shares

 कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबिबिएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को बाँडफाँट गरिएको छ । बुधबार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा बाँडफाँट गरिएको हो ।

३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यसले नेपाली पुँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताको उच्च विश्वास र आकर्षणलाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ। परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोष बाहेक)का लागि माघ १२ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो। 

सो अवधिमा विभिन्न संघ–संस्थाबाट उत्साहजनक सहभागिता देखिएको थियो। अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यस प्रकारको अग्राधिकार सेयर विकास बैंकहरूले पहिलो पटक जारी गरेको जनाइएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन कार्य सफल बनाउन सहयोग पुर्‍याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय, आवेदनकर्ता, सञ्चारमाध्यम, पत्रकार, निष्काशन बैंक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ । 

1

Scroll to Top