प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उपसभामुखको पदभार ग्रहण गरेलगत्तै ठाकुर सभामुख अर्याललाई भेट्न उनको कार्यकक्षमा पुगेकी हुन्।
भेटका क्रममा सभामुख अर्यालले नवनिर्वाचित उपसभामुखलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै खादा ओढाएर स्वागत गरेका थिए। उक्त भेटघाटमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै आगामी दिनमा संसदीय प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा संक्षिप्त छलफल समेत गरेका छन्।
सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, उनीहरूबीच सदनको कार्यसम्पादन, मर्यादित संसदीय अभ्यास र आगामी कार्ययोजनाका प्राविधिक पक्षहरूका बारेमा प्रारम्भिक कुराकानी भएको थियो। सभामुख र उपसभामुखबीचको यो पहिलो औपचारिक भेटलाई संसदीय समन्वय र सहकार्यका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। भेटका अवसरमा उपसभामुख ठाकुरले आफ्नो कार्यकालमा सदनको गरिमा उच्च राख्न र सभामुखसँगको समन्वयमा तटस्थ एवं सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएकी छिन्।


