राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आन्तरिक अनुशासन र मर्यादा विपरीत कार्य गरेको आरोपमा दुई महिला नेतामाथि कारबाहीको प्रक्रिया सुरु गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई कारबाहीको दायरामा ल्याएको हो।
पार्टीका अनुसार उनीहरूलाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। अनुशासन समितिका सदस्य भक्ति सिटौलाका अनुसार, पार्टीका आन्तरिक र गोप्य विषयहरूलाई सार्वजनिक गरी मर्यादा नाघेको तथा सामाजिक सञ्जालमार्फत पार्टीको छविमा आँच पुर्याउने खालका टिप्पणीहरू गरेकाले उनीहरूमाथि यो कदम चालिएको हो। विशेषगरी निर्वाचनका क्रममा पार्टीको आधिकारिक निर्णय र नीति विपरीतका गतिविधिमा संलग्न भएको उनीहरूमाथि गम्भीर आरोप छ।
समितिले सोधेको ७२ घण्टे म्यादभित्र चित्तबुझ्दो जवाफ नआएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन वा निष्कासनसम्मको कडा कारबाही हुन सक्ने सङ्केत दिइएको छ। यस कदमलाई राप्रपाले पार्टीभित्रको आन्तरिक शुद्धीकरण र अनुशासन कायम राख्ने प्रयासका रूपमा लिएको छ।


